सुदूर नेपाललाई विश्वसँग जोड्दै

आवासमा वार्षिक १४ लाख ४० हजार खर्च, गेटाका आवासहरू प्रयोग विहीन

२०८२ भदौ ३, ०५:४५ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशको प्रतिष्ठित स्वास्थ्य संस्था गेटा अस्पताल चिकित्सक आवासीय भवन हस्तान्तरण नभएपछि मासिक एक लाख २० हजार रुपैयाँभन्दा बढी भाडा तिर्न बाध्य भएको छ।

अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीलाई बस्नका लागि पर्याप्त आवासीय भवन बने पनि अझै प्रयोगमा आउन सकेको छैन। अस्पतालको वार्षिक १४ लाख ४० हजार रुपैयाँ आवासमा खर्च हुने गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गरेको आवासीय भवन अझै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण नभएकै कारण यस्तो समस्या सिर्जना भएको हो। नतिजा स्वरूप अस्पतालले चिकित्सक तथा नर्सिङ स्टाफलाई बाहिरै घर भाडामा बस्नुपर्ने अवस्था छ।

गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले भने, “यतिका पूर्वाधार बने पनि चिकित्सक र नर्सलाई बस्न अस्पतालले भवन प्रयोग गर्न पाएको छैन। जसका कारण उपचार सेवा प्रभावित भएको छ। सर्वसाधारणले समेत प्रश्न उठाउने गरेका छन्।”

६ अर्ब लागतमा पूर्वाधार, आवासीय भवन प्रयोग विहीन

गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि करिब ६ अर्ब रुपैयाँको लागतमा पूर्वाधार निर्माण गरिएको थियो। शिक्षा मन्त्रालयले अस्पताल सञ्चालनका लागि ६ वटा भवन (अस्पताल भवन, कुरुवा भवन, विद्युत् भवन, शवगृह, अक्सिजन प्लान्ट, चमेना गृह र लाउन्ड्री भवन) हस्तान्तरण गरिसकेको छ। तर, चिकित्सक आवासीय भवन भने अझै प्रयोगमा आउन सकेको छैन।

यसै कारण ६ सय शय्या क्षमताको अस्पताल सञ्चालन भए पनि निर्देशकदेखि विशेषज्ञ चिकित्सकसम्मले बाहिरै घर भाडामा लिनुपरेको छ। अस्पतालले हाल मासिक एक लाख २० हजार तीन सय भाडा तिर्नुपरेको छ।

मन्त्रालयबिच तालमेल नहुँदा समस्या

शिक्षा, विज्ञान था प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिचको आपसी तालमेल नबन्दा भवन हस्तान्तरण रोकिएको अनुमान गरिएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रालयबिच समझदारी आवश्यक रहेको बताए। “शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयबिच समन्वय हुन सकेन भने समस्या झन् चर्किन सक्छ,” मुख्यमन्त्री शाहले भने।

तत्काल निर्णय गर्न माग

सरोकारवालाहरूले आवासीय भवन तत्काल हस्तान्तरण गरी अस्पताल सेवा सुचारु बनाउन र स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी चाँडै नियुक्त गर्न माग गरेका छन्।

गेटा अस्पताल २०८१ कात्तिक १ गतेदेखि सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत सञ्चालनमा आएको हो। साउन १ गतेदेखि विश्वविद्यालय सम्बन्धी ऐन लागु भइसके पनि आवश्यक पूर्वाधार अझै प्रयोग विहीन रहेको छ।

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस