सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गेटामा विश्व विद्यालय सञ्चालन गर्न मन्त्रीपरिषद्मा छलफल

२०८२ भदौ २, ०६:५६ कमल सावद

धनगढी : कैलालीको गोदावरी नगरपालिका–५ गेटामा विश्व विद्यालय सञ्चालनका लागि संघीय मन्त्रीपरिषद्मा छलफल भएको छ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि सङ्घीय मन्त्रीपरिषद्मा छलफल भएको हो।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको ऐन तयार भएकाले सञ्चालनका लागि केपी ओली नेतृत्वको मन्त्रीपरिषद्मा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जानकारी दिएका छन्। धनगढीमा सोमवार सङ्घर्ष समितिको पत्र बुझ्दै मन्त्री भण्डारीले एक चरणमा मन्त्रीपरिषद्मा गेटामा विश्वविद्यालय सञ्चालनको विषयमा छलफल भएको बताएका हुन्। उनले भने, ‘पदाधिकारीको चयन र सञ्चालन गर्न आवश्यक छ। चाँडै यो विषय यहाँहरूको माझमा आउछ। अघिल्लो मन्त्रीपरिषद्मा पनि यो विषय उठान भएको हो। शिक्षा मन्त्रालयबाट कानुन बनेको छ। स्वास्थ्य मन्त्रालय पनि जोडिएको छ। शिक्षा मन्त्रालयले नै थप प्रक्रिया अगाडी बढाउछ होला।’ देशको अग्रणी सहिदको नामा विश्वविद्यालय रहेकाले चाँडै सञ्चालन गर्नुपर्ने तर्क मन्त्री भण्डारीको छ।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय नेपालकै पहिलो भएकाले नयाँ आयाम थपेको उनले बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको विधेयक, प्रतिनिधि सभाबाट पारित भएको छ। अब पहिलो बैठक र पदाधिकारी नियुक्त गर्नुपर्ने छ। शिक्षा मन्त्रालयले नै थप प्रक्रिया अगाडी बढाउने तर्क मन्त्री भण्डारीको छ। मन्त्री भण्डारीले आर्थिक वर्ष २०७२÷०७३ मा राज्यमन्त्री हुँदा केपी शर्मा ओली नेतृत्वको सरकारले ५६ करोड बजेट विनियोजन गरेको समेत स्मरण गराएका छन्। उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारमा म, राज्यमन्त्री थिए। त्यो बेला पनि हामीले ५६ करोड बजेट विनियोजन गरेका थियौ। तपाइहरूले पनि धेरै सङ्घर्ष गर्नु भयो। सबैको साझा प्रयासले विश्वविद्यालय ऐन बनेको छ। नेपालका मात्र होइन, छिमेकी देशबाट पनि विद्यार्थी आउन सक्छन्। विश्वविद्यालयको सफलता, देशको सफलता हो।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, परराष्ट्र मन्त्री आर्जु राणा देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको बिचमा पनि गेटामा विश्वविद्यालय सञ्चालनको विषयमा छलफल भएको मन्त्री भण्डारीले बताएका छन्। उनले भने, ‘ऐन बनेको छ। चाँडै सञ्चालनका लागि निर्देशन गर्छु, भनेर प्रधानमन्त्री ज्यूले भन्नु भएको थियो। सेतीबाट कर्मचारी लग्ने भन्दा पनि माथिबाटै कर्मचारी पठाउने कुरा छ। हालै स्वास्थ्य प्रतिष्ठानका रजिस्टारहरू नियुक्त भएका छन्। शिक्षा मन्त्रालयले सञ्चालनको प्रक्रिया सुरु गर्ने छ। विश्वविद्यालय सञ्चालनका लागि काम गर्ने छौ। चालु आर्थिक वर्षमा नै सञ्चालन गर्ने विषयमा म लाग्ने छु। यताबाट गएपछि सरकारमा सम्मिलित दलहरूको बिचमा छलफल गर्ने छौ।’ धनगढीमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सङ्घीय राजधानी काठमाडौँ गएपछि विश्वविद्यालयका पदाधिकारी तथा सञ्चालनको विषयमा आवाज उठाउने बताएका हुन्।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस