सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय अवरोधका कारण नेपालको जडिबुटी निकासी ६ महिनादेखि ठप्प

। फोटो स्रोत ।
२०७६ साउन ८, ०२:५१

भारतीय प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण नेपालगञ्ज नाका भएर भारततर्फ जडिबुटीको निकासी ६ महिनादेखि ठप्प रहेको छ। भारतको संशोधित प्लान्ट क्वारेन्टाईन सूचीमा नपरेको भन्दै नेपाली जडिबुटी भारतीय भन्सारले जाँचपास रोकिदिएको हो। 

निकासी रोकिएका कारण नेपालगन्ज लगायत पश्चिम नेपालका पहाडी जिल्लाहरुमा करिब १५ हजार टन जडीबुटी थन्किएका छन्। भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण पखानवेद, सताबर, अमला, पदमचाल, चिराइतो, कमलवेद, अतिस, कालादाना र सिकाकाई रिठ्ठा, टिमुर, कुट्कीलगायतका करिव ६० किसिमका जडिबुटीको निकासी रोकिएको छ।

जडिबुटीको निकासी रोकिँदा जडिबुटी संकलन र विक्री वितरणमा संलग्न करिब २५ लाख नेपालीहरु प्रत्यक्ष रुपमा प्रभावित भएको जडीबुटी व्यवसायी संघ नेपालगञ्जका अध्यक्ष याकुव अन्सारीले बताए।निकासीमा समस्या आएपछि गत वैशाख ३ गते जडिबुटी व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। प्रधानमन्त्री ओलीले व्यवसायीहरुको समस्या सुनेपछि छिट्टै समाधान गर्ने आश्वासन दिएको तर व्यवहारमा केही नगरेको जडिबुटी व्यवसायी संघ नेपालगन्जका पूर्वअध्यक्ष राजेश जैनले बताए।

नेपालको व्यापार घाटा घटाउन तथा स्थानीयको अर्थोपार्जन बलियो बनाउन जडिबुटी उत्पादन महत्वपूर्ण हुने भन्दै अबरोध खोल्ने आश्वासन वनमन्त्री शक्तिबहादुर बस्नेतले बाँडेको तर कार्यान्वयन नभएको उनको भनाइ छ।

यस्तै जडिबुटी रोकिएको विषय समाधान गर्न सरकारी निकायहरुबीच समन्वय अभाव देखिएको छ। वन मन्त्रालय, कृषि मन्त्रालय र उद्योग(वाणिज्य मन्त्रालय यसमा जिम्मेवारी उठाउन तयार छैनन्। वन मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले मन्त्रालयबाट अवश्यकपर्ने सिफारिस पत्र कृषि मन्त्रालयलाई पठाइएको बताए।

तर, कृषि मन्त्तालयका सचिव डा. युवकध्वज जिसीले भने उक्त विषय आफ्नो मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने दावी गरे। ‘जडिबुटी रोकिएको हो भने खोल्ने काम वनले गर्ने हो, कृषिसंग यो विषय सम्बन्धित नै छैन,’ सचिव जिसिले भने। यता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने नेपालगञ्जमा रोकिएका जडिबुटी सम्बन्धमा कुनै जानकारी नै नभएको बताएको छ।

नेपालबाट वर्षेनी करिब १ अर्ब रुपैयाँ बराबरको जडिबुटी भारत निकाशी हुँदै आए पनि पछिल्लो वर्षहरुमा निकासी घट्दै गएको छ। आर्थिक वर्ष ७४०÷०७५ मा नेपालबाट २७ लाख ५४ हजार दुई सय किलो जडीबुटी भारततर्फ निकासी भएको थियो। आर्थिक वर्ष ०७०÷०७१ मा नेपालले ४७ लाख ३५ हजार ०६४ किलो जडिबुटी भारत निर्यात गरेको थियो।

कमेन्ट लोड गर्नुस