बित्थडचिर गाउँपालिकाद्वारा ‘फाइटर ढाँट’लाई आर्थिक सम्मान
बझाङः बझाङको बित्थडचिर गाउँपालिका घर भएका ‘बझाङी बाघ’ उपनामले चिनिने एमएमए फाइटर रबिन्द्र ढाँटलाई सम्मान गरिएको छ।
बित्थडचिर गाउँपालिकाले ढाँटलाई नगद सहित सम्मान गर्ने भएको हो। हालै भारतमा सम्पन्न भएको ‘प्रोफेशनल फाइट’ मा भारतीय खेलाडीलाई पराजित गर्दै नेपालको नाम उज्जवल बनाएको भन्दै गाँपालिकाले फाइटर ढाँटलाई सम्मान गरिएको हो।
ढाँटको यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै बित्थडचिर गाउँपालिकाले तीन लाख एघार हजार एक सय एघार रकमसहित सम्मान गर्ने घोषणा गरेको हो। गाउँपालिकाका अनुसार, खेल क्षेत्रमा ढाँटको योगदानलाई प्रोत्साहनस्वरूप उक्त रकम प्रदान गर्न लागिएको हो।
गाउँपालिकाले एक प्रेस विज्ञप्तिमार्फत ढाँटको जितलाई गाउँकै गौरवका रूपमा लिएको बताउँदै भविष्यमा पनि यस्ता खेलाडीलाई सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि ढाँटले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो क्षमता प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व गर्दै आएका छन्।