सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका प्रतिष्ठित व्यवसायी सुरत मल्ल प्रहरी हिरासतमा, राजनीतिक प्रतिशोध लिइएको गुनासो 

२०८२ साउन २८, ०२:३७ खबर संवाददाता

बझाङः करिब १० महिना अघि बझाङको झनाना बगरमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको घटनाले फेरि नयाँ मोड लिएको छ। 

यस घटनामा सवारीधनी सुरत मल्ललाई प्रहरीले हिरासतमा राखेको छ, तर मल्ल पक्षका निकट स्रोतले यो कार्यलाई ‘राजनीतिक प्रतिशोध’को परिणाम भनेका छन्।
२०८१ साल साउनमा भएको उक्त दुर्घटनामा जाजरकोट भेरी नगरपालिका–२ का लोक बहादुर घर्ती र सञ्जय बुढाको मृत्यु भएको थियो। दुईमध्ये एक जनाको मात्र शव फेला परेको थियो। दुर्घटनाको समयमा ट्याक्टर दिव्य ज्योति कन्स्ट्रक्सन कम्पनी मातहतमा थियो, र कम्पनीका प्रतिनिधि अरुण प्रसाद थपलियाले मृतक परिवारलाई जनही पाँच–पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गराएका थिए।

तर, नौ महिनासम्म क्षतिपूर्ति नपाएपछि पीडित पक्षले जिल्ला प्रशासन कार्यालय, बझाङमा उजुरी दिए। त्यसपछि मात्रै प्रहरीले ट्याक्टरका धनी सुरत मल्लविरुद्ध पक्राउ पुर्जी जारी गरी थुनामा राख्यो। मल्लका अनुसार, दुर्घटनाबारे आफूलाई प्रारम्भमै जानकारी नै दिइएको थिएन, र सम्पूर्ण आर्थिक सम्झौता ठेकेदार थपलिया, पीडित परिवार र प्रशासनिक निकायबीच भएको थियो।

२०८२ जेठ १६ गते प्रशासनमा भएको मिलापत्रपछि थपलियाले पीडितलाई जनही पाँच लाखका चेक दिएका थिए। तर, आरोप अनुसार उनले सो रकमबाट केवल दुई–दुई लाख मात्र पीडितलाई दिई बाँकी रकम नदिएको खुलेको छ।

मल्ल पक्षका अनुसार, आफूले पीडितसँग कुनै प्रत्यक्ष आर्थिक कारोबार नगरेको स्पष्ट प्रमाण छ, र दुर्घटनाको जिम्मा ठेकेदारकै मातहतमा पर्छ। तर, अहिले प्रशासन र प्रहरीले ठेकेदारलाई पन्छाएर आफूलाई मात्र दोषी ठह¥याएको व्यवसायी मल्लका छोरा किशोर मल्लको गुनासो छ।

यसअघि, जिल्ला प्रशासनको ‘लिची रक्सी’ बिक्री–वितरण रोक्ने निर्णयविरुद्ध मल्ल उच्च अदालत दिपायल पुगेका थिए। अदालतले प्रशासनको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो। सोही मदिरा प्रकरणको प्रतिशोध लिन आफ्नो बुवालाई प्रशासनले नियन्त्रणमा लिएको किशोर मल्लको भनाइ छ। “त्यतिबेला  नियन्त्रणमा लिएको करिब तीन सय पेटी रक्सी अहिले पनि प्रशासनकै संरक्षणमा छ। यही मुद्दाको प्रतिशोधस्वरूप ट्याक्टर दुर्घटना प्रकरणमा बुवालाई फसाइएको हो,“ मल्लले भने।

हाल, सवारी दुर्घटना तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा सुरत मल्ल प्रहरी हिरासतमा छन् भने ठेकेदार अरुण प्रसाद थपलियाको खोजी जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस