सुदूर नेपाललाई विश्वसँग जोड्दै

शैल्यशिखरमा बजेट पारितमा अड्चन, नगर प्रमुख पेल्न खोज्दै

२०८२ साउन २६, ०६:१७ खबर संवाददाता

धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिका फेरि विवादमा तानिएको छ।

विगतमा भ्रष्टाचारदेखि अनुदान पाउन जीवित व्यक्तिलाई मृत देखाइएको घटनाले आलोचित बनेको शैल्यशिखर नगरपालिका अहिले आर्थिक वर्ष २०८२/२०८३ को बजेट विवादका कारण पुनः चर्चामा आएको हो।

असार १० गते नगरसभामा बजेट प्रस्तुत गरिएको भए पनि जनप्रतिनिधिबिचको मतभेदका कारण हालसम्म बजेट पारित भएको छैन। नगरसभामा पेसपछि बजेटमाथि छलफल भएपनि पारित नभएको शैल्यशिखर नगरपालिका–६ का अध्यक्ष जगदिशसिंह धामीले बताए। वडाध्यक्षहरूले वडास्तरमा बजेट पठाउनुपर्ने माग गरिरहेका छन। तर, नगर प्रमुख विजयसिंह धामी भने बजेट नगरपालिकामै राखेर सञ्चालन गर्न चाहन्छन्। ‘नगर प्रमुख ज्यूले सबै बजेट नगरपालिकामै राख्न खोजेका छन्,’ उनले भने, ‘हामीहरूले वडालाई बजेट दिनुपर्ने माग राखेका छौँ। यो माग गरेपछि नगर प्रमुखले नगरसभा नै बोलाएका छैनन्।’

वडाध्यक्षहरूले नगर प्रमुखको एकल निर्णयको विरोधमा कार्यपालिका बैठक समेत बहिष्कार गरेका छन्। शैल्यशिखर नगरपालिका–५ का वडाध्यक्ष जनकसिंह रावलले साउन २३ गते कार्यपालिका बैठक बोलाइएको बताए। तर, अधिकांश अध्यक्ष सहभागी भएनन्। त्यसपछि कार्यपालिकामा बहुमत नपुगे पनि केही सदस्यलाई पछि बोलाएर हस्ताक्षर गराइएको अध्यक्षहरूको आरोप छ। ‘साउन २३ गतेको कार्यपालिका बैठक बोलाएको थियो,’ उनले भने, ‘त्यसमा हामीहरू सहभागी भएनौं, कार्यपालिका सदस्यहरूलाई पछि बोलाएर हस्ताक्षर गर्न लगाएको सुन्नमा आएको छ।’ तत्काल बजेट पारित नगरिएमा कार्यालय सञ्चालन, कर्मचारीलाई तलब-भत्ता खुवाउन र सामाजिक भत्ता वितरणमा समस्या हुने उनी बताउँछन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले नगरसभाबाट बजेट पारित भएको दाबी गरेका छन्। ‘बजेट नगरसभाबाट पारित भइसकेको छ, अब ब्रेकडाउन गर्न बाँकी छ,’ उनले भने, ‘अध्यक्षहरूले वडामा सिधै बजेट दिनुपर्ने माग गरिरहेका छन् भने नगर प्रमुखले सबै काम नगरपालिकामै केन्द्रित गरेर सञ्चालन गर्नुपर्ने बताउनु भएको छ।’

बजेट समयमै ब्रेक डाउन नभएमा खाता सञ्चालनमा समस्या हुने उनी बताउँछन्। ‘बजेट ब्रेक डाउन नहुँदासम्म खाता खुल्दैन्। त्यो भएमा कार्यालय सञ्चालन तथा सामाजिक भत्ता वितरणको कार्य रोकिन्छ,’ उनले भने। विगतमा वडामा बजेट विनियोजन गर्ने गरेको उनको भनाई छ। ‘यस वर्ष अध्यक्षहरू प्रत्येक वडाहरूलाई ६० लाख बजेट उपलब्ध गराउनुपर्ने माग गरेका छन्,’ उनले भने, ‘नगर प्रमुखले नगर बस सञ्चालन गर्ने, विकास निर्माणका कार्य, कर्मचारीको सेवा–सुविधा उपलब्ध गराउन नगरपालिकामै बजेट राख्नुपर्छ भनेका छन्।’

साउन २३ गतेको कार्यपालिका बैठकमा बहुमतबाटै निर्णय गरिएको उनले बताए। ‘सबै कार्यपालिका सदस्यहरूलाई पत्राचार गरेर बोलाएका थियौं, केही अध्यक्षहरू आउनु भएन्,’ उनले भने, ‘कार्यपालिकामा बहुमत सदस्यहरू उपस्थित हुनु हुन्थ्यो। बहुमतबाट निर्णय भएको हो।’

साउन २२ गते ९ जना कार्यपालिका सदस्यहरूले बजेट विनियोजनको विषयमा चासो राख्दै नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निवेदन दिएका छन्। ‘असार १० गते नगरसभा सुरु भएको र हालसम्म के कति कारणले रोकिएको हो? बजेट विनियोजन कहीले कुन मितिमा हुने हो? त्यसको जानकारी समेत नभएको र बजारमा बजेट विनियोजन भएको हल्ला आइरहेकाले सत्य के हो? सो को जानकारी गराउन हुन अनुरोध छ,’ निवेदनमा भनिएको छ।

नगर प्रमुख विजय सिंह धामीले पुरानो दायित्व तिर्न मात्र बाँकी रहेको बताए। उनले पुरानो कर्मचारीको तलब–भत्ता लगायतको दायित्वका कारण विवाद रहेको बताए।

शैल्यशिखर नगरपालिकाको कार्यपालिकामा सदस्य सचिवसहित २० जना सदस्य छन्। तर, हालको विवादका कारण कार्यपालिका र नगर सभा दुवै प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।

 

कमेन्ट लोड गर्नुस