सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपिनको अवस्था ६७३ दिनसम्म अज्ञात, रुँदै बित्दैछन आमा–बुवाका रातहरू

२०८२ साउन २६, ११:२७ कमल सावद

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी २०८० सालमा इजरायल गए।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि क्याम्पस टीकापुरमा आठौँ सेमेन्स्टरमा अध्ययनको क्रममा उनी इजरायल पुगेका थिए। नेपाल सरकारको स्वीकृत “कमाउदै, पढ्दै” कार्यक्रममार्फत उनी इजरायल पुगेका थिए। तर, जोशी पुगेको २२ औँ दिनमा हमासले आक्रमण गर्यो। २०८० असोज २० गते उनी हमासको अपहरणमा परे।

विपिन जोशीको अपहरण भएको ६७३ दिन भएको छ। तर, उनको अवस्था अझै अज्ञात छ। कृषि कार्यक्रममा ११ महिनाका लागि इजरायल गएका विपिन २ वर्ष हुँदै लाग्दा पनि फर्किएका छैनन्। २२ महिना १३ दिन हुँदा पनि छोरा नेपाल नर्फिएपछि बुवा–आमाका रातहरू रुदै कटेका छन्। दिउँसोको समयमा बढी समस्या नहुने भएपनि रातिको समयमा विपिनका परिवारका सदस्यहरूलाई साह्रै गाह्रो हुने गरेको छ। उनीहरूले रात रुँदै काट्ने गरेका छन्। विपिनका बुवा महानन्द, आमा पद्मा र बहिनी पुष्पा लगायतलाई ६७३ दिनदेखि अशय्य पीडा हुने गरेको छ।

विपिनको अहरणपछि उनीहरूले नेपालका राष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू, परराष्ट्र मन्त्रीहरू, रक्षामन्त्रीहरू र जोशी परिवारको गृह जिल्ला कञ्चनपुरबाट निर्वाचित गृहमन्त्री रमेश लेखकलाई भेट्ने गरेका छन्। नेपाल सरकारले विपिनको रिहाका लागि पहल हुँदै आएको बताउने गरेको छ। तर, जोशी परिवारले छोरा फिर्ता पाएका छैनन्। उनीहरूको पीडा कम भएको छैन। हमासको अपहरणमा परेका विपिनको अवस्थासमेत जान्न नपाएका उनीहरू बेचैनमा छन्। नेपाल सरकारमात्र नभएर, विपिनको खोजी तथा उद्धारका लागि नेपाल रेडक्रस, अन्तरराष्ट्रिय रेडक्रस, मानव अधिकार लगायतका संस्थाहरूसँग पनि भेटघाट र छलफल गर्ने गरेका छन्। तर, विपिनको अवस्थाका बारेमा उनीहरूले पनि कुनै जानकारी दिन सकेका छैनन्।

विपिनको उद्धार तथा खोजीका लागि भौँतारि रहेका जोशी परिवारलाई पल–पल बाँच्न गाह्रो हुँदै आएका छ। विपनको अपहरण मुक्तिका लागि गरिएका हालसम्मका प्रयासहरू सफल भएका छैनन। उनका बुवा महानन्दले अमेरिका लगायतका मित्र राष्ट्रसँग छोराको खोजी तथा अपहरण मुक्तिका लागि पहल गरि दिन आग्रह गरेका छन्। उनले भने, “छोरो विपिन अपहरणमा परेको २२ महिना १३ दिन भयो। २०८० असोज २ गते घटना भएको हो। ११ महिनाका लागि छोरो गएको हो। ६७३ दिन भयो, फर्किएको छैन। पल–पल बाँच्न गाह्रो भएको छ। दिन गन्दै बसेका छौ। रातिको समयमा निद्रा लाग्दैन।”

उनीहरू विपिन कताबाट आउँला भन्दै पर्खि रहेका छन्। विपिन अपहरणमा परेको दिन गन्दै बसेका छन्। विभिन्न सञ्चार माध्यमहरूका समाचार हेर्दै बसेका छन्। तर, कतै पनि विपिनको अवस्थाका बारेमा जानकारी आएको छैन। जोशी परिवारका आँसु रोकिएका छैनन। विपिन सम्पर्क विहीन भएका २ वर्ष पुग्ने ५४ दिन मात्र बाँकी रहेका बेला आमा र बहिनी इजरायल जाँदैछन्। विपिन जीवित रहेको आशामा उनीहरू इजरायल जान लागेका हुन्।

 

भौँतारि

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस