कृषि तथा प्राविधिक शिक्षामा जोड दिँदै पाल्पाका सामुदायिक विद्यालय
पाल्पाका सामुदायिक विद्यालयले व्यावसायिक तथा रोजगारमूलक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालाई जोड दिएका छन्। जिल्लामा गाउँ तथा शहरमा रहेका सामुदायिक विद्यालयले कृषि बाली विज्ञान, पशुविज्ञान, सिभिल इञ्जिनीयरिङ्ग, कम्प्युटर इञ्जिनीयरिङ्ग जस्ता शिक्षा सञ्चालन गर्दै आइरहेका छन्।
यस वर्ष प्राविधिक धारको कक्षा ९ देखि १२ सम्म चार विद्यालयले प्राविधिक शिक्षा सञ्चालनका लागि स्वीकृति पाएपछि पठनपाठन शुरु गरेका छन्। रम्भा गाउँपालिका–१ हुँगीको जनकल्याण माध्यमिक विद्यालय, निस्दी गाउँपालिका–५ ढुङ्गानावेशीको जनता मावि, माथागढी गाउँपालिकाको शौभाग्य माविमा कृषि बाली विज्ञानको अध्यापन शुरु भएको छ।
यस्तै बगनासकाली गाउँपालिकाको चापपानीमा रहेको चन्द्र माविमा सिभिल इञ्जिनीयरिङ्ग विषय पठनपाठन शुरु भएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकृत महेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार हरेक स्थानीय तहमा एक मावि तहमा प्राविधिक धारको शिक्षा सञ्चालन गर्न पाउने व्यवस्था छ। यसभन्दा अगाडि तिनाउ गाउँपालिकाको दोभान मावि, तानसेन नगरपालिकाको लक्ष्मी माविमा कृषि बाली विज्ञान, रामपुर नगरपालिकाको आधारभूत माविमा पशुबाली विज्ञान सञ्चालन भइरहेको छ।
यस्तै मोहनकन्या मावि तानसेन नगरपालिकामा कम्प्युटर इञ्जिनीयरिङ्ग, तानसेनकै जनता मावि र दमकडा माविमा सिभिल इञ्जिनीयरिङ्ग शिक्षाको पठनपाठन सञ्चालन भइरहेको छ। दुर्गम क्षेत्रमा पर्ने रम्भा गाउँपालिकाको वडा नं १ स्थित हुँगीको जनकल्याण माविमा प्राविधिक धारअन्तर्गत कृषिबाली विज्ञान पठनपाठन शुरु भएको छ। कक्षा ९ देखि १२ सम्म चार वर्षे कृषि बाली विज्ञान शिक्षा शुरु भएपछि विद्यार्थीलाई प्राविधिक शिक्षा लिन अन्यत्र जाने समस्या हटेको छ। प्राविधिक शिक्षा सञ्चालनका दुई शिक्षकको दरबन्दी आएपछि कक्षा शुरु गरिएको छ।
एक हजार पुर्णाङ्कमध्ये ४०० अनिवार्य विषय, एक वटा कम्प्युटर र पाँच वटा विषय कृषि बाली विज्ञानअन्र्तर्गत रहेको प्रधानाध्यापक युवराज पन्तले बताए। व्यवसायी र स्वाबलम्बी आत्मनिर्भर बनाउनको प्राविधिक शिक्षामा जोड दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। “बोटे, दलित, माझी, विपन्न विद्यार्थीलाई पढाइमा छात्रवृत्ति तथा छुट दिइएको छ भने अन्यबाट अति न्यून शुल्क लिएर प्राविधिक शिक्षा सञ्चालन गरिएको छ”, अध्यक्ष भण्डारीले भने। विद्यालयमा हालसम्म २८ जना विद्यार्थी भर्ना भइसकेका छन् भने साउनको २२ गतेसम्म भर्ना आह्वान गरिएको छ। कूल ४८ जनाको कोटा रहेकोमा न्यूनतम २४ जना विद्यार्थी अनिवार्य हुनुपर्नेछ।
विद्यालयमा प्रयोगात्मक सामग्री खरीदलगायत प्राविधिक शिक्षा सञ्चालन गर्न सरकारबाट रु २६ लाख रकम निकासा भइसकेको छ। विद्यालयको नाममा रहेको २३८ रोपनी जग्गामा विभिन्न कृषि बाली विज्ञानका लागि आवश्यक पर्ने प्रयोगशाला निर्माण गर्ने विद्यालयले तयारी गरिरहेको छ। हुँगी क्षेत्र कृषिको पकेट क्षेत्र रहेकाले कृषि बाली विज्ञानमै जोड दिइएको शिक्षक रामप्रसाद भण्डारीले बताए। ६०० जना विद्यार्थी अध्यनरत रहेको यस विद्यालयमा उच्च शिक्षातर्फ व्यवस्थापन र शिक्षा संकाय, कक्षा नर्सरीदेखि चारसम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ।
गाउँपालिका भित्र सामुदायिक ३७ विद्यालयमध्ये आठ मावि, आठ आधारभूत र २१ प्रावि, संस्थागततर्फ पाँच विद्यालयमध्ये मावि एक, दुई आधारभूत र एक प्रावि गरी जम्मा ४२ विद्यालय छन्। रासस