तरकारीको मूल्यवृद्धि गरेपछि दर्जनभन्दा बढी पसल कारबाहीमा
सरकारले उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो भएपछि कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा शुक्रबार बिहानै ४ बजेदेखि तरकारी बजारको अनुगमन गरिएको हो। अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए।
राजधानीमा रहेका ठूला तरकारी बजारमा नियमित तरकारीको आपूर्ति भइरहे पनि अस्वभाविकरूपमा मूल्यवृद्धि भएको पाइएकाले अनुगमन गरिएको उनले बताए। गत असार अन्तिम साताको अविरल वर्षासँगै आएको बाढीपहिरो तथा डुबानका कारण तरकारी आपूर्तिमा केही समस्या देखिएको थियो। विपद्का कारण अवरुद्ध भएका सडक सञ्चालनमा आई तरकारीको आपूर्ति सामान्य अवस्थामा फर्किसकेको छ।
बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुस्थित व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गरेका छन्। जसको परिणामस्वरुप सर्वसाधारणको भान्छासमेत निकै महङ्गो बनेको छ। सरकारले कृत्रिम मूल्यवृद्धि गर्ने व्यापारी, व्यवसायीमाथि कारवाही गर्न सकेको छैन। गएको वर्ष पनि सरकारले कालीमाटीस्थित तरकारी बजारमा बिचौलिया हावी भएको भन्दै अनुगमन गरे पनि कारबाही गर्न सकेको थिएन्।
अनुगमनमा खटिएका निरीक्षण अधिकृतले तरकारी खरिद गरेको बिलबिजक नदेखाउने व्यापारीमाथि तत्काल कारवाही गर्ने विभागका महानिर्देशक गौचनले बताए। उनले भने, ‘बिचौलिया, ढुवानीकर्ता तथा किसानबाट खरिद गरेर ल्याएको तरकारी कतिमा बिक्री भयो भन्ने थाहा नहुँदासम्म उपभोक्ता ठगिरहन्छन’, ‘ठगीबाट उपभोक्तालाई जोगाउन कालीमाटी र बल्खुका तरकारी पसलमै पुगेर अनुगमन गर्ने काम भइरहेको छ, खरिद बिलबिजक लुकाउने व्यापारीमाथि कारवाही हुनेछ।’
खरिद गरिएको बिलबिजक, भरपाई तथा ‘रिसिप्ट’ देखाउन नसक्ने व्यापारीमाथि तत्काल जरिवाना गरिने उनको भनाइ छ। अनुगमनलाई अभियानका रूपमै सञ्चालन गरिने तयारी गरिएको छ। बिहान ८ बजेसम्म अनुगमन टोलीले बल्खुस्थित तरकारी बजारका सात र कालीमाटीस्थित तरकारी बजारका छ पसलमाथि कारबाहीस्वरुप जरिवाना गरेको विभागले जनाएको छ।
विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको नेतृत्वमा कालीमाटी र पवन प्याकुरेलको नेतृत्वमा बल्खुस्थित तरकारी बजारको अनुगमन भइरहेको छ। अनुगमन टोलीमा कृषि विभागका प्रतिनिधि र केही सुरक्षाकर्मी सहभागी रहेको विभागले जनाएको छ। रासस