सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारमा सेटिङका योजना पार्न गिरोह सक्रिय रहेको सासंदकै आरोप

२०७६ असार २५, ०६:५४ जनक विष्ट

सुदूरपश्चिममा भ्रष्टाचार मौलाएको भन्दै छुट्टै संसदीय समिति गठन गर्न माग गरिएको छ। बुधवार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेटमाथिको छलफलमा भाग लिएका सांसदहरुले छुट्टै संसदीय समिति गठनको माग गरेका हुन्। बजेटमाथिको छलफलमा भाग लिदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कर्ण बहादुर मल्लले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतका योजनामा खुलेआम भ्रष्टाचार भइरहेको आरोप लगाए। उनले आफ्नो गृह जिल्ला डडेल्धुराको आलीताल गाउँपालिका ५ मा तटबन्धन र खेलमैदान निर्माणका छुट्टाछुट्टैै योजनामा एउटै व्यक्तिलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर कार्यान्वयन भइरहेको बतए। ‘वडा नम्बर ५ कै वडा अध्यक्ष प्रकाश बोहोराले उपभोक्ता समितिको अध्यक्ष समेत भएर काम गरिरहेका छन्,’ उनले भने, ‘डडेल्धुराको आलीताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका, पर्शुराम नगरपालिका र बैतडीको सिगास गाउँपालिकामा लाखौँका योजनामा कम काम गरी बढि भुक्तानी दिईएको छ।’

सिगास गाउँपालिकाको मुल नै नभएको खानेपानी योजनामा ४० लाख र सुख्खा खोलामा एक करोडको योजना पारेर काम भइरहेको बताउँदै उनले सरकारको ध्यानाकर्षण गराए। यस्तै राजपाका सांसद कृष्ण चौधरीले प्रदेशमा भ्रष्टाचार मौलाएको भन्दै अधिकार सम्पन्न संसदीय समिति गठनको माग गरे। उनले प्रदेशको बजेटमा सेटिङमा योजना पार्दै भ्रष्टाचार गर्ने गिरोह समेत सक्रिय रहेको भन्दै सरकारले गम्भिर नभएमा असहज स्थिती सिर्जना हुन सक्ने चेतावनी समेत दिए। सत्तारुढ दल नेकपाका सांसदले बजेटको आलोचनात्मक समर्थन गरेका छन्। नेकपाका सांसद हर्क बहादुर कुँवरले बजेटमा भएका कमीकमजोरी सच्याउन माग गरे। 

नेकपाकै अर्का सांसद रतनबहादुर थापाले प्रदेश सरकारको बजेट हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको बताए। उनले सरकारले यसपटक बजेट निर्माणका क्रममा सबै पक्षसंग व्यापक छलफल गरेको आफूले पाएपनि बजेट भने व्यक्तिगत स्वार्थ केन्द्रीत भएर आएको टिप्पणी गरे। थापाले बजेट मन्त्रीको पैतृक सम्पत्ती नभई जनताले तिरेको कर भएकाले हिसाब किताब हुनुपर्ने बताए। असार १ गते बजेट ल्याईएकोमा २२ दिनपछि बजेटमाथिको छलफल सुरु भएको थियो। भोली बजेट पास गर्ने तयारी रहेको श्रोतले जनाएको छ। सत्तारुढ दलका प्रदेश सभा सदस्यहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी भएको श्रोतको दावी छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस