कैलालीको हुलाकी सडकमा खाल्डाखुल्डी पुर्न बालबालिका सक्रिय
हुलाकी सडक अन्तरगत कैलालीको धनगढी–फूलबारी खण्डमा खाल्डाखुल्डी र कल्भर्ट फुट्दा सवारी दुर्घटना बढ्दै गएका छन्। फुटेका कल्भर्ट र सडकमा रहेका खाल्डाखुल्डीका कारण भएको दुर्घटनाबाट झण्डै दुई बर्षको अवधीमा आधा दर्जनले ज्यान गुमाईसकेका छन्। कल्भर्ट फुटेपछि निस्किएका सरीया र खाल्डाखुल्डीले आवतजावतमै सास्ती हुन थालेको छ। सडक निर्माण गरेको दुई वर्षसम्म मर्मतको जिम्मेवारी निर्माण कम्पनीलाई हुने भएपनि निर्माण लगत्तै हतारमा भारतीय निर्माण कम्पनी जिआर गाभरले सरकारलाई हस्तान्तरण गर्दा मर्मतमा कुनै पनि निकायले चाँसो दिएको छैन्।
जस्का कारण दुर्घटना बढ्दै गएको भन्दै स्थानीय वालवालिकाहरु आफै खाल्डाखुल्डी पुर्न सक्रिय भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर १४ स्याउले बजारका स्थानीय वालवालिकाहरुले ग्रावेल बोक्दै आफै खाल्डाखुल्डी पुर्न सुरु गरेका हुन्। उनीहरुले सरोकारवाला निकायलाई दवाव दिनका लागि खाल्डाखुल्डीमा ग्रावेल हाल्न सुरु बताएका छन्।