सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा तत्काल राजनीतिक नियुक्ति परिपूर्ति गर्ने संयन्त्रको निर्णय

२०८१ फाल्गुन २९, ०७:२५ खबर संवाददाता

कैलालीः सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई अझै प्रभावकारी बनाउने गरी छलफल अगाडि बढाएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको संयन्त्रको दोस्रो बैठकमा प्रदेश सरकारको कामलाई अझै प्रभावकारी बनाउने, राजनीतिक नियुक्तिलाई तत्काल परिपूर्ति गर्ने, जनताको अपेक्षा र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावतले जानकारी दिए।

‘सरकारलाई अझै प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको थियो। आपसी समझदारीको आधारमा चाँडै राजनीतिक नियुक्ति परिपूर्ति गर्ने निर्णय गरिएको छ’ प्रवक्ता रावतले भने। सुदूरपश्चिमका प्रादेशिक अस्पतालहरूको अध्यक्ष पद रिक्त हुँदै छ। खेलकुद परिषद् युवा परिषद्, विभिन्न पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठान पनि चाँडै रिक्त हुँदै छन्। राजनीतिक नियुक्तिका बेला गठबन्धनमा खटपट नहोस् भन्नका लागि बुधवारको छलफलले त्यसको खाका बनाउने जिम्मा मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र पूर्व मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई दिएको छ।

‘राजनीतिक नियुक्तिका विषमा दुई दलका नेताहरूले खाका ल्याउनु हुन्छ ,त्यसमा छलफल गरेर चाँडै नियुक्ति गर्ने छलफल भएको छ’ बैठकमा सहभागी एक नेताले भने। बैठकमा कांग्रेसको तर्फबाट प्रदेश सभापति वीरबहादुर बलायर, मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश उपसभापति जनकराज अवस्थी र प्रदेश प्रवक्ता सुरत रावल थिए। त्यस्तै बैठकमा एमालेको तर्फबाट केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पूर्व मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी उपस्थित थिए।

बुधवारको बैठकको अध्यक्षता कांग्रेस सभापति बलायरले गरेका थिए। यस अघिको पहिलो संयन्त्रको बैठकको अध्यक्षता एमालेका इन्चार्ज भट्टले गरेका थिए। बैठकमा पूर्व मुख्यमन्त्री रावलले आगामी बजेट अझै प्रभावकारी हुनुपर्ने बताएका थिए। ‘अब टुक्रे योजना होइन दिगो रूपले हेरेर गौरवका योजनामा सरकारले चासो दिनु पर्छ’ उनले भने, ‘आगामी बजेट प्राथमिकताको आधारमा हुनुपर्छ र हुन्छ।’

बैठकमा मुख्यमन्त्री शाहले आफूले सुधारका केही प्रयास गरेको भन्दै आगामी आर्थिक वर्षको बजेट अझै प्रभावकारी हुने बताए। ‘देखिने काम हुनेछन्। सुशासनको जग अझै बलियो हुने छ’ उनले भने ‘यो गठबन्धन पुरै कार्यकाल टिक्छ। हामी समन्वय र सहकार्य गरेर अगाडी बढ्छौँ।’

एमाले केन्द्रीय सचिव भट्टले आपसी समन्वयमा आधारमा काम गर्न सुझाव दिएका थिए। राजनीतिक संयन्त्रलाई अझै प्रभावकारी बनाउनु पर्ने भन्दै उनले सत्ता गठबन्धनको संयन्त्र पालिका स्तरसम्म पनि पुराउन आवश्यक रहेको बताएका थिए। कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कांग्रेस प्रदेश सभापति बलायरले सरकार सञ्चालन गर्दा केही समस्या आए संयन्त्रको बैठकबाट टुङ्गो लगाउनु पर्ने बताएका थिए।

संसद् विकास कोष खारेज गर्नुपर्नेमा प्रदेश सभापति बलायरको जोड थियो। निर्वाचन प्रणाली फरक फरक रहेको भन्दै दुवै प्रणालीबाट आएका प्रदेश सांसदलाई समान ढङ्गको भूमिका दिनुपर्ने उनको भनाइ थियो। प्रदेश सभापति बलायरले प्रदेश निर्वाचन क्षेत्रको जिम्मा दिएर भए पनि समानुपातिक र समावेशी विकास अगाडी बढाउनु पर्ने बताएका थिए।

सुदूरपश्चिम प्रदेशका दुई ठुला दलका नेतासहितका पार्टीका नेता बसेर प्रदेश सरकारलाई अझै प्रभावकारी बनाउने छलफल गरेका छन्। यसले केही टेवा पुग्ने अपेक्षा गरिएको छ। संयन्त्रको बैठक बुधकार दोस्रो पटक बसेको हो। यसअघि पुस ८ गते मुख्यमन्त्रीकै सरकारी निवासमा बसेको थियो।

कमेन्ट लोड गर्नुस