सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका लेखा समूहका कर्मचारीको मुख्यमन्त्री कार्यालय धर्ना

२०८१ फाल्गुन २८, ०४:४१ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखा समूहका अधिकृत स्तरका कर्मचारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिएका छन्।

लेखा समूहको नवौं तह पद बढुवाको विज्ञापन खोल्नु पर्ने माग गर्दै उनीहरूले धर्ना दिएका हुन्।

प्रदेश लोकसेवा आयोगले गत फागुनमा प्रशासन समूहको नवौं तह बढुवाको विज्ञापन निकालेको थियो। प्रशासनतर्फको मात्रै विज्ञापन खोलेपछि आफूहरू अन्यायमा परेको लेखा समूहको ठहर छ। उनीहरूले प्रदेश निजामती सेवाको नवौं तहमा प्रशासन सेवाका समूह हटाउन माग गरेका छन्।

लेखा समूहको ओएन्डएम गर्न माग उनीहरूको छ। प्रदेश लोकसेवा आयोगले फागुन २० गते खोलेको प्रशासन सेवाको विज्ञापन स्थगित गरी सबै समूहलाई समेटेर पुनः एकमुस्ट विज्ञापन गर्न आन्दोलनरत कर्मचारीको माग छ। प्रदेश लोक सेवाले मागहरू पूरा गर्न नसकिए सुदूरपश्चिम प्रदेशमा समायोजित लेखा अधिकृतहरूलाई सङ्घमा फिर्ता पठाउन माग उनीहरूको छ। सुदूरपश्चिममा लेखा समूहतर्फ अधिकृत स्तरका २५ जना कर्मचारी कार्यरत रहेका जनाइएको छ।

तीन बुँदे माग राख्दै एक हप्तादेखि लेखा समूहका कर्मचारीको सङ्घर्षमा छन्। आन्दोलनरत लेखा समूहका कर्मचारीले प्रदेश लेखा नियन्त्रक कार्यालयसहित नौवटै जिल्ला कार्यबाट भुक्तानी ठप्प गरेका छन्।

प्रदेश लेखा नियन्त्रकको कार्यालयमा एक हप्तादेखि भुक्तानी ठप्प रहेको छ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस