सुदूर नेपाललाई विश्वसँग जोड्दै

शङ्खध्वनिले गुञ्जिदै धनगढीको रोजगार मेला

२०८१ फाल्गुन २५, ०३:१४ रासस

धनगढी: धनगढीको खुलमञ्चमा लागेको सीप तथा रोजगार मेला अचेल हरेक बिहान सामूहिक रूपमा बज्ने शङ्खध्वनिले गुञ्जिने गरेको छ।

मेलास्थलमा व्यवस्था गरिएको पुरोहित स्टलमा कर्मकाण्ड सिक्नेलाई बिहानै शङ्ख बजाउने सीपसँगै कर्मकाण्डसम्बन्धी ज्ञान सिकाइँदा मेलास्थल मात्रै होइन त्यस आसपासको बस्ती नै शङ्खध्वनिले गुञ्जिने गरेको छ। पुरोहितको स्टल यस मेलाको आकर्षणको केन्द्रका रूपमा रहेको छ।

प्रशिक्षक एवं पुरोहित सहदेव जोशीले भने, ‘सुरुका दिनमा सबै प्रशिक्षार्थीलाई शङ्ख बजाउने सीप सिकाइयो, त्यसपछि कर्मकाण्डका क्रममा कुन कुन समयमा शङ्ख फुक्ने भन्ने विधि सिकाउँदैछौँ।’ प्रशिक्षार्थीलाई सैद्धान्तिक र प्रयोगात्मक सीप सिकाउने गरिएको छ। नित्य पूजा र ब्राह्मण आचरण, देव पूजन पद्धति र पितृ पूजाको अवधारणामा आधारित रहेर प्रशिक्षण सञ्चालन भइरहेको छ। ‘प्रशिक्षणबाट ब्राह्मण संस्कृतिको जगेर्ना हुने मात्र नभई ब्राह्मणहरूलाई शुद्ध आचरण र व्यवहारमा बाँध्न सिकाउँछ‘, जोशीले थपे, ‘यसबाट रोजगार र स्वरोजगारका अवसर पनि सिर्जन गर्ने विश्वास छ।’

सहभागीलाई पूर्णिमा, एकादशी, सत्यनारायण र रुद्री गरी चार समूहमा विभाजन गरेर प्रशिक्षण सञ्चालन भइरहेको छ। स्टलमा यज्ञ मण्डप बनाइएको छ। सहभागी २८ जानमध्ये एक गैर ब्राह्मणले पनि प्रशिक्षण लिरहेका छन्। प्रशिक्षार्थी सिद्धराज जोशीले भने, ‘बुबाबाजेले गर्दै आएको पुरेत्याइ आफूले पनि गर्नुपर्छ भन्ने सोचलेसहभागी भए, यस्तो खालको प्रशिक्षणको सोच गर्ने धनगढी उपमहानगरपालिका प्रमुख र उपप्रमुखलाई धन्यवाद दिनै पर्छ।’

प्रशिक्षणबाट हुने सिकाइले पुर्खाले गर्दैआएको कर्मकाण्ड सिकेर संस्कृतिको जगेर्नामा पनि मद्दत पुग्ने उनी बताउछन। प्रशिक्षणमा सहभागी गौरी नाथले ब्राह्मण नभेटिएपछि गत वर्ष आफैँले जसोतसो तुलसी विवाह गर्नुपर्ने अवस्था आउँदा कर्मकाण्ड सिक्नैपर्ने बाध्यता आइलागेको अनुभव सुनाए। पूर्वकर्मचारीसमेत रहेका नाथले भने, ‘ब्राह्मण भनेर कसैले नबोलाए पनि कर्मकाण्ड सिक्दैमा केही नब्रिने सोचेर आफू पनि नियमित प्रशिक्षणमा रहेको छु।’

नेपालमा भूगोलअनुसार चार तरिकाले पूजाको पद्धति गर्ने परम्परा छ। गण्डक, पशुपति र कौशिक क्षेत्रमा अग्नि स्थापनाको विधि, जनव्या(मधेस) र मानशखण्ड (सुदूरपश्चिम) क्षेत्रमा भाष्कर विधिले कर्मकाण्ड पूजा गर्ने परम्परा रहेको पुरोहित जोशीले बताए।

पुरोहित प्रशिक्षक तथा प्रशिक्षार्थीले नियमित उपस्थित भई काम गर्नुपर्ने, अनिवार्य रूपमा बस्त्र (कुर्ता सुरुवाल), ढाका टोपी लगाउनुपर्ने, जुत्ता चप्पल लगाउन नपाउनेजस्ता नियम बनाइएका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले पुरोहितसम्बन्धी पाठ्यक्रम तयार पारेको जनाइएको छ। समाजमा पछिल्ला दशकमा घरमा कर्मकाण्ड गराउनका लागि पुरोहित नपाउने र पाइएमा पनि विधि र शुद्ध आचरणको भएको ब्राह्मण नपाउने समस्या छ।

धनगढी उपमहानगरपालिकाको पहलमा भएको एक महिने सीप तथा रोजगार मेलामा एक हजारभन्दा बढीलाई विभिन्न विधामा सीप सिकाइँदै छ। मेलामा मोबाइल, सिसीटिभी मर्मत, वेल्डिङ, रेफ्रिजेटर मर्मत, हार्डवेयर नेटवर्किङ, डिजिटल मार्केटिङ, एडभान्स टेलरिङ, पुरोहित तालिम, प्लम्बिङ, बाल विकास शिक्षा, नाई, ब्युटिसिएनलगायत तालिम सञ्चालन भइरहेका छन्।

 

कमेन्ट लोड गर्नुस