बैतडीमा मृग मारेर जोगिएका कर्णले गोली हानेर भाइ मारे
ऋतु ओझा: धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिका–८ का सुरेन्द्र विष्टले दाइ नाता पर्ने कर्णबहादुर विष्टलाई ४० हजार सापटी दिए।
चार वर्ष अगाडि ४५ वर्षीय दाइ कर्णबहादुरलाई सापटी दिएका सुरेन्द्रले पटक–पटक रकम फिर्ता माग्दै आए।
उनीहरूको बिचमा लेन–देनको विषयमा झगडासमेत हुने गरेको थियो। गाउँ–परिवारले उनीहरूको झगडामा मिलापत्र गर्दै आए। सुरेन्द्र जिप चालक हुन। उनको आफ्नै जिप छ। कर्णबहादुर किसान हुन। उनको अन्य आर्थिक स्रोत छैन। उनी नेताहरूसँग निकट हुने व्यक्ति हुन। उनको नाममा ऋण भएकाले सुरेन्द्रले ४० हजार सापटी दिएका हुन। तर, ऋण लिएको रकम फिर्ता नदिएपछि सुरेन्द्र र कर्णको विवाद हुने गरेको थियो। गत, शनिवार साँझ सुरेन्द्रको गोली हानेर हत्या भयो। जिल्लामा कहालीलाग्दो घटना घटेको हो।
पेशाले यातायात व्यवसायी रहेका सुरेन्द्र शनिवार राति घर नजिकैको होटेलमा खाना खाइरहेका थिए। त्यहीँ बेला कर्णबहादुर पुगे। सुरेन्द्र र कर्णबहादुरको बिचमा लेनदेनको विषयमा फेरि विवाद भयो। विवाद हुन थालेपछि होटेलमा रहेका अन्य व्यक्तिहरुले कर्णबहादुरलाई घर पठाए। तर, घर गएका कर्णबहादुर भने केही बेरमा बन्दुक लिएर सुरेन्द्र खाना खाइरहेको होटेलमा पुगे। सुरेन्द्रको पछाडिबाट गोली प्रहार गरे। उनी घाइते भए। अस्पताल लैजादै गर्दा उनको बाटोमा मृत्यु भयो। कर्णबहादुर फरार भएका छन्।
सुरेन्द्रको परिवार स्रोतले सापटीको ४० हजारका कारण ज्यान गएको बताएको छ। परिवारका एक सदस्यले भने, ‘४० हजार सापटी लिएको थियो। चार÷पाँच वर्षसम्म फिर्ता दिएन। धेरै पटक उनीहरूको बिचमा झगडा हुने गरेको थियो। सोही विषयमा विवाद हुँदा कर्णले गोली हानेको हो।’
गोली लागेका सुरेन्द्रलाई तत्काल अस्पताल लगिएको थियो। तर, उनले बाटोमै प्राण त्यागे। सुरेन्द्रको परिवार दुःखमा छ। उनको परिवार कर्णलाई कारबाही हुनेमा आसामा छ। तर, कर्ण फरार छन्। उनको नाममा पहिला पनि वन मुद्दा थियो। उनी मृग मारेर फरार भएका थिए। तर, उनी कारागार बसेनन्। आर्थिक र राजनीतिक शक्तिमा उनी कारागार बाहिरै बसे। २ महिना फरार भएका थिए। उनका साथीहरूले भने, कारागार बस्नु परेको थियो। तर, कर्णबहमादुरले रकम तिरेर मुक्ति पाएका थिए।
श्रीमतीको बिचल्ली
सुरेन्द्रले प्रेम विवाह गरेको सात महिना जति भएको छ। उनकी श्रीमती कक्षा १० मा पढ्दैछन। श्रीमानको हत्यापछि उनी अचेत अवस्थामा छन्। उनको बिचल्ली भएको छ। मृतक सुरेन्द्रको पोस्टमार्टमपछि दाहसंस्कार गरिएको छ। यो घटनाले गाउँ नै शोकमा छ।
सुरेन्द्रकी आमा माइत गएकी थिइन्। उनी माइती घरमा हुँदा नै छोराको हत्या भयो। घर फर्किँदा उनको छोरासँग भेट हुन पाएन। भयो त, छोराको शवसँग भेट भयो। सुरेन्द्रको गोली प्रहार गरि हत्या गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले बताए। प्रहरीमा लेनदेनको विषयमा विवाद हुँदा कर्णबहादुर विष्टले एक नाले बन्दुकले सुरेन्द्र विष्टको गोली हानी हत्या गरेका हुन्। उनले प्रयोग गरेको बन्दुक दर्तासमेत नरहेको प्रहरीले बताएको छ।
जङ्गली जनावर मृग मारेर वन मुद्दाबाट मुक्ति पाएका कर्णले फेरि भाइ मारेका हुन। उनी अहिले पनि फरार छन्। प्रहरीले उनको खोजी गर्दै छ। गाउँमा प्रहरी परिचालन गरिएको छ। भारत जान सक्ने भन्दै प्रहरीले निगरानी बढाएको समेत बताएको छ।