बङ्क–नायल सडक चार वर्षदेखि अलपत्र, विरोधमा सडकमै वडा कार्यालयको सेवा
धनगढी: कञ्चनपुरको बङ्क–नायल–बुडर सडक निर्माणको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन गरिएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका–२ का अध्यक्ष अर्जुनसिंह साउँदले आइतवारदेखि सडकमा नै वडा कार्यालयको सेवा दिन थालेका हुन।
२०७७ सालमा ठेक्का सम्झौता भएको सडकको काम हालसम्म सम्पन्न भएको छैन। सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सडकबाटै वडा कार्यालयको सुवा दिन थालेको अध्यक्ष साउँदले बताए। ‘बङ्क चोकदेखि दोमिल्लासम्म ७ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भएको हो। हालसम्म काम भएको छैन। निर्माण कम्पनीलाई कारबाहीसमेत गरिएको छैन।्,’ उनले भने, ‘सुदूरपश्चिम सरकारको गौरवको योजनामा यो सडक छ। ठेकेदार क्रसर चलाउँछ। प्रत्येक वर्ष म्याद मात्रै थपिन्छ। तर, काम हुँदैन्। कारबाही पनि हुँदैन।’
लिखित र मौखिक रूपमा पटक–पटक ठेकेदार र पूर्वाधार कार्यालय कञ्चनपुरलाई ध्यानाकर्षण गराउँदा समेत काम नभएको गुनासो उनको छ। एक साताअघि मात्र सडक निर्माणको माग अघि सारेर पूर्वाधार विकास कार्यालयमा अल्टिमेटम दिइएको थियो। ‘यहाँका जनताले धुलो खानु परेको छ। जनताले धुलो खानुपर्ने र जनप्रतिनिधिहरूले सुविधा सम्पन्न भवनबाट सेवा दिनु उचित नहुने भएकाले सडकमै कार्यालय राखेका छौँ। जनतासँगै हामी पनि सडकमा छौ।’ अध्यक्ष साउँदले भने।
चार वर्षअघि सन्तोषी–थेगिम जेभीले उक्त सडक कालोपत्रेको ठेक्का पाएको थियो। हालसम्म निर्माण कम्पनीले काम नगर्दा सडक झन बिग्रिँदै गएको छ। जनतालाई आवात–जावतमा समस्या परेको उनले बताए। सडक निर्माणको सुनिश्चितता नहुँदासम्म सडकमै बसेर कार्यालय चलाउने उनी बताउँछन्।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले सात किलोमिटर सडक खण्ड निर्माणका लागि निर्माण कम्पनीलाई पत्राचार गरिएको बताए। ‘ठेकेदारले ठेक्का लिएदेखि यथाशीघ्र काम गरेन्। आगामी २०८२ चैतसम्म म्याद भएकाले अहिले नै ठेक्का तोडेर अर्कोलाई दिन पनि समस्या हुन्छ। हामीले तारन्तार ताकेता गरेका छौँ, उनले भने। ठेकेदारले थप एक साता समय मागेको उनले बताए।
बङ्क–बुडर सडक निर्माणको २०७७ साउन २० गते सम्झौता भएको थियो। निर्माण कम्पनीले २०८१ वैशाख २० गते सडक निर्माणको काम पूरा गर्नुपर्ने हो। तर, २०८२ चैतसम्मका लागि सडक निर्माणको समय थप गरिएको छ।
निर्माण कम्पनीले हालसम्म ३५ प्रतिशत मात्र भौतिक निर्माणको काम पूरा गरेको छ।