सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपत् न्यूनीकरणमा पत्रकारको भूमिका महत्वपूर्ण, कानुनमन्त्री हिरा सार्की

तस्बिरः अविनाश चौधरी
तस्बिरः अविनाश चौधरी
२०८१ फाल्गुन १६, ०१:४८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपत् जोखिम न्यूनीकरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए।

धनगढीमा ‘विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जोखिमा सञ्चारमा मिडियाको भूमिका’ सम्बन्धि कार्यक्रम उद्घाटन गर्दै उनले विपत् जोखिम न्यूनीकरणका लागि पत्रकारको थुप्रै भूमिका रहेको बताए। मन्त्री सार्कीले भने “विपत् र विपत् जोखिम न्यूनीकरण सम्बन्धमा समुदायलाई सजग गराउनेदेखि लिएर सरकारलाई घचघच्याउने कार्य पत्रकारले गर्नु पर्छ।”

विपत् जुनसुकै बेला आउन सक्ने भएकाले विपत्को सामनाका लागि सक्षम हुन पत्रकारमार्फत सहयोग पुग्ने मन्त्रीको विश्वास छ। उनले विपत् जोखिम न्यूनीकरणसम्बन्धी सूचना प्रवाहलाई सशक्त बनाउने भूमिका पत्रकारको रहेको उल्लेख गरे। “सरकार र मौसम विज्ञान विभागले सचेत गर्छन् तर कतिपय अवस्थामा समुदायले नपत्याउँदा क्षति भइरहेको छ,”।

मन्त्री सार्कीले भने, “यस्तो अवस्थामा मिडियाको भूमिका निकै महत्वपूर्ण छ ।” उनले सुदूरपश्चिम प्रदेश विभिन्न विपत्को उच्च जोखिममा रहेको बताए। मन्त्री सार्कीले विपत्बाट धनसम्पत्तिको क्षति न्यूनीकरण गर्न नसके पनि समयमै उपयुक्त सूचना प्रवाह गरेर मानवीय क्षति रोक्न सकिने उल्लेख गरे। कार्यक्रममा राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनबारे बुझाउने दायित्व पत्रकारको रहेको बताए। उनले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि बनेको नयाँ नीतिबारे मिडियाले जनतालाई बुझाउनुपर्ने उल्लेख गरे।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पत्रकारले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए। राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रनलयले आयोजना गरेको सबलीकरण कार्यक्रममा कैलाली र कञ्चनपुरमा कार्यरत पत्रकारहरुकोे सहभागिता रहेको छ। मर्सिकोरको व्यवस्थापनमा भइरहेको यो कार्यक्रम दुई दिनसम्म चल्ने छ।  

कमेन्ट लोड गर्नुस