कैलालीको स्वास्थ्य क्षेत्रका समस्याका बारेमा सहसचिव बुढाथोकीको ध्यानाकर्षण
धनगढीः कैलालीका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरूले जिल्लाको स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरूका बारेमा सहसचिव डाक्टर प्रकाश बुढाथोकीको ध्यानाकर्षण गराएका छन।
सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर खगेन्द्र बममार्फत जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डाक्टर बुढाथोकीको ध्यानाकर्षण गराएका हुन ।स्वास्थ्य क्षेत्रमा सङ्घीय सरकारले तत्काल समन्वय एवं समाधान गरिनुपर्ने कामका बारेमा जानकारी गराइएको बताइएको छ।
जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा स्थलगत अनुगमन गर्न धनगढी पुगेका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डाक्टर बुढाथोकीले धनगढी उपमहानगरपालिकाद्वारा हरेक वडामा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ तथा नसर्ने रोगको ‘स्क्रिनिङ’का अनुगमन समेत गरेका थिए। सोही अवसरमा बुढाथोकीले कारागार कार्यालय कैलालीमा रहेका कैदीबन्दीलाई प्रदान भइराखेको स्वास्थ्य सेवाका बारेमा समेत जानकारी लिएका थिए।