कैलाली प्रिमियर लिग–३: उपाधिका लागि आज पुर्नवास र भीमदत्त भिड्ने
धनगढीः धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास बी र भीमदत्त भिड्ने भएका छन। मंगलवार पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको छ।
टस समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्टले जानकारी दिए। प्रधानमन्त्री कपको प्रदेश छनोटका लागि खेलाडीहरु बैतडी गएपछि खेलाडी अपुग भएर सेमिफाइनल छोड्नु परेको गोदावरी नगरपालिकाको टिमका म्यानेजर रमेश कडायतले बताए।
त्यस्तै दोश्रो सेमिफाइनलमा बाजुराको त्रिवेणी नगरपालिकालाई ३२ रनले पराजित गर्दै कञ्चनपुरको भिमदत्त नगरपालिका फाइनलमा प्रवेश गरेको हो। भीमदत्तले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा त्रिवेणीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १०० रन मात्र बनाउन सक्यो। त्रिवेणीका लागि सुमित श्रेष्ठले सर्वाधिक २५ रन बनाए। बिजय रानाले २१ रन बनाउँदा तुल बहादुर थापाले १९ रनको योगदान दिए।
भिमदत्तका लागि अरुण ऐरीलले ५ विकेट लिए। उनी म्यान अफ दी म्याच चुनिए। त्यस्तै विकास आग्रीले २ तथा साजन बिटालु र किरण चन्दले समान एक एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भिमदत्तले १९.१ ओभरमा अलआउट हुँदै १३२ रन रनको मध्यम योगफल तयार पारेको थियो। उस्का लागि ओपनर ब्याटर अविषेक थापाले ४३ रनको अविजित पारी खेले।
कप्तान प्रकाश पाण्डेयले १६ रन बनाउँदा मिलन बोहराले १४, साजन बिटालुले १३, नितेन बिष्ट र समिर बिष्टले समान १२÷१२ रन बनाए। त्रिवेणीका लागि दिपक टमाट्टाले ३ विकेट लिए। दिनेश महरा र संदिप मौरियाको नाममा दुई दुई विकेट रह्यो। फाइनल खेल फागुन १४ गते अर्थात आज दिउँसो १ बजेदेखि धनगढीको फाप्ला मैदानमा हुनेछ।
जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सञ्चालन भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो। तेश्रो संस्करणमा मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ। पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो।
प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख, सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५÷१५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ।