सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका २१ किसानको २५ लाख २० हजार ठगी, जाहेरी दर्ता गर्न प्रहरीको अटेरी

फाइल फोटो
फाइल फोटो
२०८१ फाल्गुन ९, ०७:०१ कमल सावद

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्झन्नाका २१ जना किसानबाट दिपेश चौधरीले २०८१ जेठ २७ गतेदेखि असार २० गतेसम्म एक लाख २० हजारका दरले रकम उठाए।

बाल सशक्तीकरण नेपालका अध्यक्ष योगेश योगी र सुरु नेपालका अध्यक्ष सुशीला खड्का ओझासँग चिनजान रहेको र छुटमा टेली पावर (चम्फा टेक्टर) वितरण गर्ने भन्दै किसानहरूबाट उनले रकम उठाएका हुन्। बजारमा २ लाख ३० हजार मूल्य पर्ने पावर टेलर एक लाख २० हजारमा घरसम्मै ल्याउने दिपेश चौधरी (योगी)ले आश्वासन दिएका थिए।

सुरो नेपालकी अध्यक्ष खड्का र योगेश योगीसँग पनि स्थानीयले सम्पर्क गरे। उनीहरूले पनि रकम जम्मा भएको एक हप्तामा घरसम्म पावर टेलर पुर्‍याउने आश्वासन दिए। धुर्झन्नाका २१ जना किसानले एक लाख २० हजारका दरले २५ लाख २० हजार रुपैयाँ मोबाइल बैँकिङ्ग तथा नगद स्थानीयसमेत रहेका दिपेश चौधरीलाई दिए।

तर, उनीहरूले दिएको भाखामा पावर टेलर दिन सकेनन। स्थानीय किसानहरूले पटक–पटक सम्पर्कसमेत गरे। कम्पनीमा रकम जम्मा गरेकाले २/४ दिन पर्खन भनियो। तर, त्यो समयमा पनि पावर टिलर आएन। पीडित किसानहरू उनीहरूको घरसम्म गए। तर, फेला पार्न सकेनन्। पावर टिलर वितरण गर्न नसक्ने अवस्था भए, रकम फिर्ता गर्न पनि किसानहरूले माग गरेका थिए। २०८१ माघ २८ गते दिपेश चौधरी (योगी) र योगेश योगीले रकम पनि फिर्ता नगर्ने र पावर टिलर पनि नदिने भन्दै धम्की दिए। उनीहरूले जे गर्न सक्छौ गर भन्दै किसानहरूलाई धम्काएका हुन्।

दिनेश चौधरीको खातामा रकम जम्मा गरेको सात महिनासम्म पावर टिलर नपाएका किसानहरू जिल्ला प्रहरी कार्यालय, कैलालीमा आए। जिल्ला प्रहरी कार्यालय, कैलालीले समेत तीन दिनदेखि किसानहरूलाई दुःख दिदै आएको छ। एक लाख २० हजारका दरले ठगीमा परेका २१ जना किसानहरूको संयुक्त रूपमा लिखित जाहेरी दर्ता गर्न कैलाली प्रहरीले नमानेको हो।

मुलुकी अपराध संहिता २०७४ को दफा २४८, १ र २ बमोजिम कसुर गरेको भन्दी पीडितहरूले न्यायका लागि प्रहरीमा जाहेरी दर्ता गर्न खोजेका हुन। किसानहरूले मोबाइल बैँकिङ्ग मार्फत रकम जम्मा गरेको प्रतिलिपि पनि प्रहरीमा बुझाएका छन्। गाउँ सरजमिन मुचुल्का गर्न प्रहरीलाई लिखित आग्रहसमेत गरिएको छ।

तर, जिल्ला प्रहरी कार्यालय, कैलालीले तीन जनाको नाम जाहेरीबाट हटाउन भन्दै आएको छ। किसानहरूले पीडक भनेर दिएको जाहेरीमा भएका सुरो नेपालकी अध्यक्ष कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ राजघाटकी सुशीला खड्का ओझा, कैलालीको कैलारी गाउँपालिका–६ सुर्मी गाउँका योगेश योगी र कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीका दिपेश चौधरी (योगी)को नाम जाहेरी दरखास्तबाट हटाउन कैलाली प्रहरीले दबाब दिएको हो। एक पीडितले भनिन्, ‘तीन दिनदेखि जिल्ला प्रहरी कार्यालय धाउदैछौ। तर, जाहेरी दर्ता भएको छैन। शुक्रवार पनि जाहेरी दर्ता भएन। पावर टिलर दिन्छु भन्दै ठग्नेहरूको नाम हटाउन भन्दैछन्। ठगहरूको नाम नै नभएको कस्तो जाहेरी होला ?’

सुरो नेपालकी अध्यक्ष सुशीला खड्का ओझासहितका तीन जना विरुद्धको जाहेरी दर्ता गर्न कैलाली प्रहरीले आनाकानी गरेको हो। जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धीको कसुरमा सुरो नेपालकी अध्यक्ष खड्का, योगेश योगी र दिपेश चौधरी (योगी)का विरुद्धमा २१ जना किसानले जाहेरी दर्ता गर्न लागेका हुन। तर, कैलाली प्रहरीले उनीहरूको नाममा जाहेरी दर्ता गर्न मानेको छैन।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले जाहेरी प्रहरीमा आएको विषयमा जानकारी नभएको बताए।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस