पक्राउ परेका व्यापारीलाई रिहाईको माग गर्दै अत्तरियामा एक घण्टा चक्काजाम
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष सहितका व्यापारीलाई रिहाईको माग गर्दै सडकमा चक्काजाम गरिएको छ। वणिज्य संघका अध्यक्ष अशोक देवकोटा सहितका तीन जनालाई रिहाईको माग गर्दै व्यापारीहरुले पूर्वपश्चिम राजमार्गमा एक घण्टा सडक अवरुद्द गरेका हुन्। प्रहरीले हिजो पत्रकार सम्मेलनबाट अध्यक्ष देवकोटा सहित तीन जना व्यापारीलाई पक्राउ गरेको थियो।
प्रहरीले सार्वजनिक हित विरुद्धको कसुर अन्र्तगत गोदावरी नगरपालिकाले दर्ता गरेको मुद्दामा उनीहरुलाई पक्राउ गरेको हो। नगरपालिकाले अध्यक्ष देवकोटा सहितका ८ जना व्यापारी विरुद्ध मुद्दा दर्ता गरेको थियो। गत असार १० गते नगरसभामा उद्योग वाणिज्य संघलाई शुभकामना मनतव्य सहित मागहरु राख्न नदिएकपछि केही व्यापारीले विरोध जनाएका थिए।
नेकपा स्थायी कमिटि सदस्य लेखराज भट्ट सहभागी नगरसभामा अवरोध सिर्जना गरेको भन्दै नगरपालिकाले उद्योग वाणिज्य संघका पदाधिकारी सहित केही व्यापारी विरुद्ध मुद्धा दर्ता गरेको थियो। उद्योग वाणिज्य संघले आज सोही विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न अत्तरिया स्थित कार्यालयमै पत्रकार सम्मेलन गरेको थियो। सोही क्रममा ईलाका प्रहरी कार्यालय मालाखेतीले उनीहरुलाई पक्राउ गरेको थियो।