आर्थिक बर्ष सकिन १४ दिन मात्रै, सुदूरपश्चिममा २७ अर्व बजेट खर्च गर्न बाँकी
आर्थिक बर्ष सकिन १४ दिन मात्रै बाँकी रहेको अवस्था सुदूरपश्चिममा सरकारी कार्यालयहरुले २७ अर्व बढि बजेट खर्च गर्न बाँकी रहेको छ। ९ वटै जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालय र प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार सुदूरपश्चिममा अझै २७ अर्व बजेट खर्च गर्न बाँकी रहेको हो। जस्मा चालु तर्फ १४ अर्व रहेको छ भने पुँजिगत अर्थात विकास तर्फ १३ अर्व बजेट कोष तथा लेखा नियन्त्रण कार्यालयकै खातामा रहेको छ। संघीय र प्रदेश सरकारले चालु तर्फ सुदूरपश्चिममा ६८ अर्व ७८ करोड बजेट विनियोजन गरेकामा त्यस्को ८० प्रतिशत अर्थात ५४ अर्व ४५ करोड खर्च भईसकेको छ। यस्तै दुवै सरकारले सुदूरपश्चिमकका विकासे अड्डाहरुलाई चालु आर्थिक बर्षका लागि दिएको विकास बजेट २४ अर्व हो। जस्मा आर्थिक बर्षको साढे ११ महिना सम्म ११ अर्व मात्रै खर्च भएको छ भने बाँकी १४ दिनमा १३ अर्व खर्च गर्ने जिम्मेवारी रहेको छ।
प्रदेश सरकारले अहिले सम्म चालु तर्फ ११ अर्व ९१ करोडमा ४ अर्व १५ करोड खर्च गरेको छ भने विकास तर्फ १० अर्व ७५ करोड बजेट रहेकोमा ३ अर्व ६२ करोड मात्रै खर्च गरेको छ। सुदूरपश्चिममा सबैभन्दा बढि ६ अर्व १७ करोड विकास बजेट रहेको कैलालीमा जिल्लाका विकासे अड्डाहरुले अहिले सम्म त्यस्को आधा तीन अर्व ४९ करोड मात्रै खर्च गरेका छन्। कैलाली जिल्लामा चालु तर्फको २३ अर्व ९ करोड १६ लाख बजेट रहेकामा १९ अर्व २६ करोड ७७ लाख खर्च भईसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख लक्ष्मीप्रशाद जोशीले बताए।
यस्तै दार्चुला जिल्लामा ६५ करोड ६७ लाख विकास बजेट रहेकामा अहिले सम्म ४४ करोड ९८ लाख खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका प्रमुख भुपालसिंह कार्कीले बताए। उनले चालु तर्फ ३ अर्व ४१ करोड बजेट रहेकोमा ३ अर्व १९ करोड खर्च भईसकेको जानकारी दिए।
कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लामा संघीय सरकारले दिएको विकास तर्फको बजेट ३४ करोड मात्रै हो भने अहिले सम्म १० करोड ५६ लाख खर्च भएको छ। चालु तर्फ चार अर्व ६५ करोड बजेट रहेकोमा चार अर्व २६ करोड खर्च भईसकेको कार्यालयले जनाएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका प्रमुख मणिभद्र न्यौपानेले जिल्लामा तीन अर्व ४४ करोड बजेट विकास तर्फ रहेकोमा अहिले सम्म २ अर्व ६० करोड खर्च भएको बताए। चालु तर्फ ६ अर्व ५७ करोड बजेट रहेकोमा ६ अर्व ४ करोड खर्च भईसकेको उनले बताए।
अछाम जिल्लामा चालु आर्थिक बर्षका लागि एक अर्व १५ करोड विकास बजेट आएको छ। अहिले सम्म अछामका विकासे अड्डाहरुले ३५ करोड मात्रै खर्च गर्न सकेका छन्। चालु तर्फ भने ४ अर्व ४८ करोड ३२ लाख बजेट रहेकोमा ३ अर्व ९८ करोड २६ लाख खर्च भईसकेको छ।
बझाङ जिल्लामा ३६ करोड ७५ लाख विकास तर्फको बजेट रहेकोमा अहिले सम्म २७ करोड १७ लाख मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शेरवहादुर विष्टले बताए। उनले चालु तर्फ ४ अर्व ५४ करोड बजेट रहेकोमा ४ अर्व १८ करोड खर्च भईसकेको बताए। बैतडी जिल्लामा ८० करोड ९३ लाख पुँजिगत बजेट रहेकोमा अहिले सम्म ११ करोड ५८ लाख मात्रै खर्च भएको छ भने चालु तर्फ ४ अर्व ३ करोड ३१ लाख बजेट रहेकोमा अहिले सम्म ३ अर्व ७२ करोड ५० लाख खर्च भएको छ।
डडेल्धुरा जिल्लामा २२ करोड १३ लाख मात्रै विकास बजेट संघीय सरकारले दिएको थियो। तर अहिले सम्म १२ करोड ७५ लाख मात्रै खर्च हुँदा चालु तर्फ भने ३ अर्व २१ करोडमा २ अर्व ९० करोड खर्च भईसकेको छ। यस्तै बाजुरा जिल्लामा अहिले सम्म संघीय सरकारले ८ करोड ६३ लाख मात्रै विकास बजेट दिएको छ तर ६ करोड ६४ हजार मात्रै खर्च भएको छ। चालु तर्फ भने २ अर्व ८५ करोड ९४ लाखमा २ अर्व ७३ करोड ३ लाख खर्च भएको छ। आर्थिक बर्षका साढे ११ महिना सम्म विकास बजेट ४५ प्रतिशत मात्रै खर्च भएकाले १४ दिनमा बढिमा १० प्रतिशत थप बजेट खर्च हुने देखिएको छ भने कुल बजेटको ४५ प्रतिशत फ्रिज जाने देखिएको छ। तर चालु तर्फको बजेट भने ९० प्रतिशत भन्दा बढि खर्च हुने देखिएको छ।