कैलालीका प्रदीप अध्ययनसँगै मौरी पालनमा, वार्षिक १४ क्विन्टल मह उत्पादन

धनगढी : कैलालीको लम्की–चुहा नगरपालिका–९ प्रतापुरका प्रदीपप्रसाद न्यौपानेले कक्षा १२ को परीक्षा दिएपछि मौरीपालन व्यवसाय सुरु गरे।
पाँच घारबाट उनले १८ वर्षको उमेरमा मौरीपालन व्यवसायको सुरुवात गरेका हुन। त्रिवेणी बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर उनले ६ वर्षदेखि मौरीपालन गर्दै आएका छनर। पाँच वटा घारबाट व्यवसायीक मौरीपालन थालेका उनका ४० घार पुगेका छन। कैलालीको प्रतापुरबाट दाङ्, सल्यान, टीकापुर, बर्दगोरिया लगायतका ठाउँहरूमा उनी मौरी चराउन जाने गरेका छन्। उनले भने, ‘लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छु। ६ वर्षदेखि मौरी पालन व्यवसायमा छु। पाँच घारबाट सुरु गरेको हो। अहिले ४० घार छन्। चैत–वैशाखसम्म ८० घार पुगाउने हो।’
लम्की बहुमुखी क्याम्पसमा मानविकी सङ्कायमा चौथो वर्षमा अध्ययनरत न्यौपानेले वार्षिक १४ क्विन्टल मह उत्पादन गर्न थालेका छन। वार्षिक ६ लाखको हाराहारीमा उनले मह बिक्री गर्दै आएका हुन्। उनले तोरी, चिउरी, असारे, सिसौ, जामुन लगायतको मह तयार पार्दै छन। महको स्रोत अनुसारको फरक–फरक मूल्यमा न्यौपानले मह बिक्री गर्दै छन्। उनले भने, ‘ग्राहको माग अनुसार एक किलोग्रामदेखि माथि तौलको मह नेपाल भरी पुगाउदैछौ। तोरी र चिउरीको कात्तिकको मह सात सय, वैशाखको मह एक हजार २ सय र सिसौको महको एक हजारमा बिक्री गर्दै छौ। जामुनको मह एक हजार २ सयमा बिक्री गर्दै छौ। अहिले जामुनाको मह हामीसँग सकिएको छ।’


त्रिवेणी बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक प्रदीपले २० वटा खाली घार र केही सहयोगी सामाग्रीहरू अनुदानमासमेत पाएका छन्। स्थानीय सरकार, सुदूरपश्चिम सरकार र सङ्घीय सरकारले उत्पादन बिक्रीमा सहयोग गर्नुपर्ने माग उनको छ। मह उत्पादन गर्ने किसानहरूको विवरण तयार पार्दै सरकारले मह बिक्रीमा सहयोग गर्नुपर्ने माग उनको छ। सरकारले उत्पादन भएको मह बिक्री गर्न सहयोग गरेपछि पैसा कमाउन विदेश जानुनपर्ने दाबी उनको छ। उनले भने, ‘हाम्रो समूहबाट अनुदान पाएको छु। दुई पटक १०÷१० खाली घार र बाल्टीहरू पाएको छु। विदेश जाने युवाहरूको सङ्ख्या धेरै छ। मेरो घरबाट पनि विदेश जान भन्दै हुनुहुन्छ। सरकारहरूले किसानका लागि बजेट दिने गरेको छ। तर, सही ठाउँमा खर्च भएको छैन। सामुदायिक विद्यालयहरूमा पनि कृषि आवश्यक छ। मैले पढ्दै, कमाउदैछु।’

अध्ययनसँगै व्यवसायीक मौरी पालनमा लागेका प्रदीपले चैत–वैशाखसम्म ४० वटा घार थप गर्ने योजना बनाएका छन्। अध्ययनसँग आम्दानीसमेत गर्न सकिने तर्क उनको छ। न्यौपानले भने, ‘सरकारले बजारीकरणको ग्यारेन्टी गरोस। हामी मह उत्पादन गर्न तयार छौ। तर, बजारीकरणमा समस्या हुने गरेको छ।’
