सेती अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप, छानविनको माग
सेती अस्पतालको लापरवाहीले धनगढीमा एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले घटनाको छानविन गर्न माग गरेका छन्। रक्तश्राव भएपछि सेती अस्पताल भर्ना भएकी धनगढी उपमहानगरपालिका वडा नम्बर २ की दुर्गा जोशीको चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै घटनाको छानविन गर्न माग गरिएको हो। मृतकका बुवा ताराप्रसाद जोशी र वडा नम्वर २ का वासिन्दाले आज सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै छानविनको माग गरेका हुन्।
रक्तश्राव भएपछि असार ८ गते अस्पताल पुगाएकी दुर्गाको र शिशुको अवस्था सुरुमा सामान्य रहेको र त्यसपछि जोखिम भएको भन्दै शल्यक्रिया गरिएको मृतकका वुवा जोशीले बताए। शल्यक्रिया पछि चिकित्सकहरुले आमा र शिशुको अवस्था सामान्य रहेको बताएको तर दुर्गाको अवस्था असमान्य भएपछि आईसियुमा राखिएको उनले बताए। तर असार १० गते सम्म पनि दुर्गाको स्वास्थ्यमा सुधार नआएपछि सिटीस्क्यान गदा ब्रेनमा रगत जमेको पाईएपछि प्रदेश सरकारको एयर लिफ्टिङ सेवा मार्फत थप उपचारका लागि काठमाडौँ लैजान खोजिएको थियो।
तर हेलिकोप्टर नआएपछि दुर्गालाई भारतको बरेली लगिएको थियो। भारतमा चिकित्सकले उपचारमा ढिलाई भएको भन्दै फर्काएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। मृतकका आफन्तले सेती अस्पतालकै चिकित्सक र कर्मचारीको लापरवाहीले नै मृत्यु भएको भन्दै छानविन गर्न माग गरेका छन्।