सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको नेपाल–भारत दशगजा क्षेत्रमा लफडा

२०८१ माघ २३, १२:३३ कमल सावद

धनगढी : कञ्चनपुरको नेपाल–भारत दशगजा क्षेत्रमा लफडा भएको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ मा भारतीय पक्षले एकलौटी सीमा क्षेत्रमा गरिएको खेती खाली गर्न थालेको भन्दै स्थानीयले विरोध गरेका हुन। सीमा क्षेत्रमा किसानले लगाएको बाली भारतीय सुरक्षा पक्षले नष्ट गर्न थालेपछि स्थानीयले विरोध गरेका छन्। उनीहरूले सीमा क्षेत्रमा भारतीय पक्षले एकलौटी काम गरेको गुनासो गरेका हुन।

दोधारा–चाँदनी नगरपालिकाको दशगजा क्षेत्रमा किसानले खेती गरेका छन। सीमा क्षेत्रमा नेपाली र भारतीय दुबै देशका किसानहरूले खेती गर्दै आएका हुन। दशगजा क्षेत्रमा गरिएको खेती भारतीय सीमा सुरक्षा बल (एसएसबी) लगाएतको समूहले हटाएको हो। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरलाई जानकारी दिएको बताउदैछन्। तर, स्थानीयहरू प्रमुख जिल्ला अधिकारी र नग प्रमुख सीमा क्षेत्रमा नआएको भन्दै लफडा भारतीय पक्षसँग लफडा गर्दैछन्।

दोधारा–चाँदनी नगरपालिका–८ का वडाध्यक्ष ओमप्रकाश रोकायाले दशगजा क्षेत्रको बाली भारतीय पक्षले हटाएको बताए। दोधारा–चाँदनी नगरपालिकासँग जोडिएको सबै सीमा क्षेत्रको अवरोध भारतीय पक्षले हटाउन थालेको हो। उनले भने, ‘सात मिटर भारत तिर र तीन मिटर नेपाल तिरको अतिक्रमण हटाउन थालिएको हो। हाम्रो दोधारा चाँदनी नगरपालिकाको पूरा क्षेत्रमा दशगजामा खेती गरिएको छ।’ दोधारा चाँदनी नगरपालिकाले सीमा क्षेत्रमा स्थानीयले अनावश्यक विवाद गरेको बताएको छ। सीमा स्तम्भ रहेको क्षेत्रमा भौतिक संरचना तथा खेती गर्न नपाइने कानुनी व्यवस्था हुँदा पनि किसानहरूले अटेरी गरेका नगरपालिकाले बताएको हो।

दोधारा–चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बुले भारत तिर सात मिटर र नेपाल क्षेत्रमा तीन मिटर भित्रको खेती नष्ट गरिएको बताए। उनले भने, ‘भारतीय पक्षले सर्भे गरेको छ। भारत–नेपाल मिल्दा पनि दशगजा क्षेत्र खाली गर्ने नै हो। उहाँहरूले आफ्नो क्षेत्रमा सात मिटर र नेपाल क्षेत्रमा तीन मिटर खाली गर्दैछन्। प्रमुख जिल्ला अधिकारीको क्षेत्रबाट समन्वय भएको हो। तर, स्थानीय विरोध गर्दैछन।’

राजनीति गर्दै नेताहरू

दोधारा–चाँदनीमा दशगजाको भारत क्षेत्रमा जङ्गल छ। तर, नेपाल क्षेत्रमा खुल्ला जमिन छ। खुल्ला जमिन रहेकाले किसानले खेती गर्दै आएका छन्। केही भारत तिरको क्षेत्रमा समते खेती गरिएको छ। दशगजा अतिक्रमण भएपछि भारतीय पक्षले खाली गरेको हो।

तर, स्थानीय नेताहरूले राजनीति गरेका आरोप छ। नगर प्रमुख किशोरकुमार लिम्बुले भने, ‘प्रमुख जिल्ला अधिकारीको तहबाट समाधान भएको विषय हो। भारतीय पक्षले प्रमुख जिल्ला अधिकारीलाई जानकारी पनि दिनु भएको छ। उहाँहरूले प्रशासन लगाएर हटाउनु भएको हो। विवाद समाधान भएको हो। तर, राजनीति गर्नेहरूले प्रमुख जिल्ला अधिकारी किन आएन ? मेयर किन आएनन ? भन्दै प्रश्न गरे। हुल गर्ने काम गरेका छन। हामीहरू पुगेपछि बोल्नै दिनु भएन। वडाध्यक्ष त हान्नै जानु भयो।’ नेपाल र भारतको सम्बन्ध बिगार्ने काम भएको मेयर लिम्बुले बताए।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले भारतले दशगजा क्षेत्रको आफ्नो भूमि खाली गर्न थालेको बताए। मङ्गलवार स्थलगत अनुगमनमा गएका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘नेपालको भूमिमा कुनै नोक्सानी गरेको छैन। भारतले आफ्नो क्षेत्रमा खाली गर्दै छ। नेपालले पनि खाली गर्नुपर्छ। दशगजा छोड्न हामीले पनि भनेका छौ। उहाँहरूले पनि भन्नु भएको छ। विवाद ठुलो केही छैन।’

सीमा स्तम्भको ६० फिट क्षेत्रमा खेती गर्न मिल्लदैन

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ धामी टोलमा भारतीय पक्षले नेपाल क्षेत्रमा तीन मिटर र भारत क्षेत्रमा सात मिटरमा लगाइएको खेती नष्ट गरेको छ। सीमा क्षेत्रको ३०/३० फिटमा खेती लगाउन मिल्लदैन। सीमा स्तम्भबाट ३० फिट नेपाल र ३० फिट भारत क्षेत्रमा कुनै पनि भौतिक संरचनाहरू तथा खेती गर्न मिल्लदैन।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको नापी विभागका सूचना अधिकारी दामोदर ढकालले ३०/३० फिट क्षेत्रमा कुनै पनि काम गर्न कानुनले बन्देज गरेको बताए। उनले भने, ‘दशगजा क्षेत्र ३० फिट हो। ३० नेपाल पट्टि र ३० भारत पट्टि हो। ३० मिटर क्षेत्रमा खेती गर्न मिल्लदैन।’ सीमा स्तम्भ रहेको दशगजा क्षेत्रमा नौ दशमलव १४४ मिटर नेपाल र नौ दशमलव १४४ मिटर भारत तिरको क्षेत्रमा खेती गर्न मिल्लदैन।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस