घोडाघोडी नगरपालिकाले नदीको ठेक्का गर्न सकेन, नदीजन्य पदार्थको तस्करी हुँदै
सुखड: कैलालीको घोडाघोडी नगरपालिकाले नदीहरूको ठेक्का गर्न नसक्दा तस्करी हुने गरेको खुलेको छ। गिट्टी, बालुवा, ढुङ्गा उत्खननका लागि चालु आर्थिक वर्षमा ठेक्का सम्झौता नभएकाले अवैध उत्खनन भइरहेको पाइएको हो।
नगरपालिकाले पाँच वटा नदी, खोला ठेक्कामा दिएर नदीजन्य पदार्थ उत्खनन गर्दै आएको छ। तर, चालु आर्थिक वर्षमा एक नदीको मात्र ठेक्का सम्झौता गरिएको छ। अन्य खोलाहरूको ठेक्का गरिएको छैन। नगरपालिकाका कर्मचारीहरू खोलामा खटाएर राजस्व उठाउने तयारी छ।
चालु आर्थिक वर्षको ६ महिना जाँदासमेत नदीजन्य पदार्थ उत्खनन रोकिँदा अवैध दोहन बढेको हो। गिट्टी, बालुवा, ढुङ्गालगायतका सामग्री उत्खनन तथा चोरी निकासी बढ्दै गएको पाइएको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस पहलमानपुरको गस्ती टोलीले कान्द्रा नदीमा दुई वटा जेसिबी लगाएर अवैध रूपमा गिट्टी, बालुवा उत्खनन गर्दै गर्दा नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले से १ क ५६० र भे १ क १३२२ नम्बरको जेसिबीले कान्द्रा नदीमा गिट्टी, बालुवा निकाल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीले कारबाहीका लागि घोडाघोडी नगरपालिकालाई पत्राचार गरेर पाँच÷चार हजार जरिबाना तिराइएको बताएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कान्द्रा, कन्द्री, टेग्ना, डोडा र झिँगेझाला खोलाको एकमुस्ट पटक–पटक ठेक्का आह्वान गरेको थियो। ठेक्का नलागेपछि तीन वटा र दुई वटा खोलाको अलग–अलगसमेत ठेक्का आह्वान गरिएको छ। ठेक्का नलागेपछि प्रत्येक नदीको अलग–अलग ठेक्का आह्वान गर्दा पनि कान्द्रा नदी मात्र ठेक्कामा गएको नगरपालिकाले बताएको छ।