सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी

२०८१ पुष ११, ०६:४६ खबर संवाददाता

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारी खेतीबाट दैनिक दुई हजारसम्म आम्दानी गर्दै आएका छन्।

बिस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका हुन्। उनले सबै खर्च कटाएर तरकारी खेतीबाट वार्षिक रु चारदेखि रु पाँच लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए। रानाले तरकारी बिक्रीबाट प्रशस्त आम्दानी भइरहेकाले जीविकोपार्जनमा समस्या नभएको बताए।

सानोतिनो समस्या पर्दा छरछिमेक र आफन्तलाई सहयोग गर्न पाएको उनले बताए। आठ जनाको परिवारको सबै खर्च बालबच्चाको पढाइलेखाइ यसैबाट चलेको छ। उनले मौसमी, बेमौसमी सबै किसिमका तरकारी लगाउने गरेको बताए। रानाका अनुसार बिक्री कम हुँदा दैनिक रु एक हजार पाँच सयसम्म र बढीमा दुई हजारसम्म आम्दानी भइरहेको छ।

मेहनत गर्न सके तरकारी खेतीबाट मनग्ये आम्दानी लिन सकिने उनको भनाइ छ। सोही ठाउँका बन्धु रानाले पनि तरकारीखेतीबाट सहजै जीविकोपार्जन भइरहेको बताए। आठ कठ्ठा जग्गामा ३५ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका बन्धुले सबै खर्च कटाएर वार्षिक रु तीन लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए।

भारतबाट आउने तरकारी सस्तोमा पाइने भएकाले उपभोक्ताले सस्तो मूल्यमा किन्ने भन्दै सोही कारणले बजारीकरणको समस्या रहेको बन्धुले बताए। पछिल्लो समय मटियारीका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। यहाँका किसानका लागि तरकारीखेती जीविकोपार्जनको राम्रो स्रोत बनेको छ। तरकारीखेतीबाट घरव्यवहार चलाउन सहज भएको किसान बताउँछन्।

कमेन्ट लोड गर्नुस