सुदूरपश्चिममा वित्तीय अपराध बढ्यो, एक करोड ठगी गर्ने पक्राउ
धनगढीः सुदूरपश्चिममा वित्तीय अपराध बढ्न थालेको छ। यही अपराध अन्तर्गत कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरी बुधवार पक्राउ नै परेका छन्।
५० लाख रुपैयाँ बिगो बराबरको मुद्दामा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला अदालत बाँकेबाट पनि सोही बराबरकै बिगोमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। दुवै गरी एक करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार दोषी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले बैंकिङ कसुरको मुद्दामा दिनदिनै जसो प्रतिवादीहरूलाई पक्राउ गर्न थालेको छ। प्रहरी अधिकारीहरूका अनुसार पछिल्लो समय बैंकिङ कसुरका घटना दिनप्रतिदिन बढ्दै गएका छन्। बैंकिङ कसुरसम्बन्धी घटना सबैभन्दा धेरै कैलाली र कञ्चनपुरको प्रहरी कार्यालयमा दर्ता हुने गरेको छ।
बैंकको निक्षेप जथाभावी अपचल गर्ने र बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा बैंकिङ कसुर मान्ने गरिएको छ। अपचलन तथा निक्षेप कम भए पनि जानीजानी चेक काट्ने र अरुलाई छल्ने प्रवृत्ति बढ्दा प्रहरीमा मुद्दाको चाङ लाग्न थालेको छ।
त्यस्ता मुद्दा हेर्न प्रहरीलाई सकससमेत पर्ने गरेको छ। पछिल्लो समय बैंकिङ कसुरका मुद्दा बढ्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०८०÷८१ मा यस्ता ८७ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंकिङ कसुरसम्बन्धी मुद्दासमेत उच्च दरमा बढ्न थालेको छ। चेक नसाटिने घटना बढेपछि बैंकिङ कसुरसम्बन्धी मुद्दाको संख्यासँगै बिगो रकमसमेत बढ्न थालेको छ।