सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीचुहाका विद्यालयमा झोला वितरण गर्ने नाममा ‘बाइबल’को प्रचार

२०८१ पुष ८, ०६:५७ नारायण अवस्थी

धनगढीः कैलालीको लम्कीचुहाका सामुदायिक विद्यालयमा झोला वितरण गर्ने नाममा बाइबल र यसुको प्रचार गरिन थालेको छ।

स्थानीय इसाई पास्टरहरूले सामुदायिक विद्यालयमा गएर झोला वितरण गर्दै इसाई मतको प्रचार गर्न थालेका हुन्। केही वर्षदेखि लम्कीचुहा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा विपन्न विद्यार्थीलाई सहयोग गर्ने नाममा कलिला बालबालिकाको आस्था परिवर्तन गर्ने कामले तीव्रता पाएको छ। स्थानीय पास्टरहरूले शिक्षकहरूको सहयोगमा इसाई रिलिजनको प्रचार गर्न थालेका हुन्।

धर्मनिरपेक्षता शब्दको दुरुपयोग गर्दै इसाईहरूले लम्की क्षेत्रमा हिन्दु बालबालिकाहरूलाई आफ्नो मतमा तान्ने अभियान विद्यालयहरूमा चलाउँदै आएको स्थानीयले गुनासो गरेका छन्। पास्टरहरूलाई शिक्षकहरूले इसाई मत फैलाउन सहयोग गरेको केही स्थानीयहरूको दाबी छ।
बालबालिकाको आस्थामाथि प्रहार
चार दिन अगाडि लम्कीचुहा नगरपालिका–१ मा रहेको शहिद स्मृति माध्यमिक विद्यालयमा ३० थान झोला र ३० थान लुगा वितरण गर्ने नाममा स्थानीय पास्टर जनमेजय भट्टराईले बाइबल र इसुको प्रचार गरेका छन्। कलिला बालबालिकाहरूलाई विद्यालयको चौरमा बसालेर लाउड स्पिकरको प्रयोग गर्दै शिक्षकहरूकै प्रयोग गरेर पास्टर भट्टराईले हरेक वर्ष लम्की क्षेत्रका सामुदायिक विद्यालयमा आस्था परिवर्तन गर्ने प्रयत्न गर्दै आएका छन्।

पास्टर भट्टराईले विद्यालयमा इसाई रिलिजन प्रचार गर्न लाग्दा विद्यालयका शिक्षकहरूको समेत उपस्थिति रहेको भिडियोहरूमा देखिन्छ। तर, बाइबल र इसुख्रिष्टको बारेमा प्रचार गरेको विषयमा आफूलाई कार्यक्रम सकिएपछि मात्रै जानकारी भएको शहिद स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैसीले बताए।

उनले विपन्न बालबालिकाहरूलाई झोला र कपडा वितरण गर्न आएका पास्टर जनमेजय भट्टराईले सामाजिक विषयका कुरा बताउने भनेपछि बोल्न दिएको बताए। ’जनमेजय भट्टराईले विपन्न विद्यार्थीलाई सहयोग गर्ने भनेकाले हामीले विद्यालयमा आउन दिएका हौँ। भट्टराईले गत वर्ष पनि सहयोग गरेका थिए,’ उनले भने, ’सामाजिक विषया केही बोल्छु भनेका थिए। बोलेको कसैले भिडियो बनाएर फेसबुकमा हाल्दा समस्या भएको हो, अरू त्यस्तो केही होइन्। हामीले धर्म प्रचार गर्नु भनेका होइनौँ।’
यसुले मात्रै स्वर्ग लैजाने पास्टर भट्टराईको दाबी
बालबालिकालाई सामाजिक कुरा सिकाउने भन्दै पास्टर भट्टराईले बाइबल र यसुको कुरा गरेको प्रधानाध्यापक जैसीले बताएका छन्। पास्टर भट्टराईले भने सामाजिक अध्ययनको विषयमा बोल्ने भन्दै बाइबल र इसाई रिलिजनको बखान गरेका छन्। स्वर्ग जानका लागि यसुले मात्रै सहयोग गर्न सक्ने भएकाले सबैले बाइबलको अध्ययन गर्ने र प्रभु यसुलाई मात्रै मान्नुपर्ने पास्टर भट्टराईले बताएका छन्।

उनले बालबालिकाहरूलाई चिसो भुइँमा बसालेर बाइबल र यसुको बारेमा बखान गरेको भिडियोहरू सार्वजनिक भएका छन्। पास्टर भट्टराईको समूहले लम्कीचुहा नगरपालिकाका अन्य सामुदायिक विद्यालहरूमा समेत झोला र कपडा वितरण गर्ने भन्दै हरेक वर्ष २४ डिसेम्बर आसपासमा कार्यक्रम राख्ने र इसाई मत र बाइबलको विषयमा प्रवचन दिँदै आएको स्थानीयले बताएका छन्।

पास्टर भट्टराईले बाइबलको सुसमाचार सुनाउन आफूहरूले पाउनुपर्ने दाबी गरेका छन्। लम्की सामुदायिक चर्चका पास्टर भट्टराईले विद्यालयहरूमा पुगेर होप पार्टनरसिप नेपाल नामक संस्थाले दिएको झोला वितरण गर्दै बाइबलको प्रचार गर्दै आएका छन्। उनले स्वतन्त्र किसिमले इसुको बाणी सुन्न र सुनाउन पाउने वातावरण बन्नुपर्ने मागसमेत गरेका छन्। लम्कीचुहाका सामुदायिक विद्यालयहरूमा बाइबलको प्रचार प्रसार गर्न शिक्षकहरूले मिसनरीका मानिसहरूलाई पूर्ण सहयोग गरेका छन्। विद्यार्थीहरूको पढाइ अबरुद्ध गरेर बालबालिकाहरूलाई चौरमा बसाली इसाई गीत र प्रवचन मार्फत उनीहरूको भावना र विचारमाथि प्रहार गर्ने काम गर्दै आएको स्थानीयको गुनासो छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस