शनिवारे मेलामा पञ्चोदयका छात्राले तयार गरेका सामान बेच्दै
धनगढीः शनिवारे महिला उद्यमी मेलामा पञ्चोदय माध्यमिक विद्यालय धनगढीका छात्राहरुले तयार गरेका सामान बिक्री हुन थालेको छ।
कक्षा १० मा अध्ययनरत पाँच जना छात्राहरूले पुनः प्रयोग गर्न मिल्ने कपडाबाट सामग्री बनाएर बिक्री गर्न थालेका हुन्। अघिल्लो शनिवार एक हजार पाँच सयको सामग्री बिक्री गरेका छात्राहरूले शुक्रवार दुई घण्टा लगाएर तयार गरेका सामग्री शनिवारे मेलामा बिक्री गरेर आयआर्जन गरेका हुन्। साथै आफैले तयार गरेका सामग्री विक्री हुन थालेपछि सो विद्यालयमा अध्ययनर छात्राहरु उत्साहित भएका छन्।
धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालयका पाँच जना छात्राहरूले शनिवारे महिला उद्यमी मेलामा स्टल राख्न थालेका छन्। उनीहरूले गत शनिवारदेखि स्टल राख्न थालेका हुन्। अघिल्लो शनिवार हातबाट निर्मित झोला लगायतका सामग्री बिक्रीबाट एक हजार पाँच सय आम्दानी गरेका छात्राहरूले शनिवारे मेलाले पढाइसँगै आयआर्जनमा लाग्न प्रेरित गरेको बताएका छन्।
उनीहरूले पुनः प्रयोगमा आउने सामग्रीबाट सामग्री तयार गरी बिक्री गर्न थालेको समूहकी छात्रा ज्योति भट्टले बताइन्। उनले विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाको सुझाव र हौसलाका कारण सामग्री तयार गरी बिक्री गर्न थालेको बताइन्। ‘हामीलाई हेडसरले सुझाव दिनुभएको हो।
पुनःप्रयोगमा आउने कपडाबाट झोला लगायतका सामग्री तयार गरेर बिक्री गरिरहेका छौँ’, उनले भनिन्, ‘शुक्रवार विद्यालपछि दुई घण्टा लगाएर तयार गरिएका सामग्री मेलामा बिक्री गर्छौँ।’ सरस्वती गिरी, अस्मिता बिष्ट, ज्योति भट्ट, अन्सिता रोकाया र उषा जोशीको पाँच जना छात्राको समूहले पढ्दापढ्दै आयआर्जन गर्न थालेका हुन्।
उनीहरूलाई विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले पुनः प्रयोगमा आउने कपडा प्रयोग गरेर झोला लगायतका सामग्री तयार गर्न र शनिवारे महिला उद्यमी मेलामा बिक्री गर्न सुझाव दिएको अस्मिता बिष्टले बताइन्। उनले मेलाले समयको सदुपयोग गर्न र आम्दानी गर्न सिकाएको बताएकी छन्। धनगढी उपमहानगरपालिकाले महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले सुरू गरेको शनिवारे मेलाले पढ्दापढ्दै आम्दानी गर्ने बानी बसालेको छात्राहरूले प्रतिक्रिया दिएका छन्।
खेर जाने कपडा र अन्य सामग्रीबाट सपिङ्ग गर्ने झोला, कपाल बाध्न र सिँगार्न प्रयोग हुने सामग्री तयार गरेर बिक्री गर्न थालेका हुन्। दैनिक प्रयोगमा आउने सामग्री तयार गरेका उनीहरूले २० रुपैयाँदेखि दुई सय ५० रुपैयाँसम्मको हातैले तयार गरेका सामग्री बिक्री गरिरहेको सरस्वती गिरीले बताइन्। ‘हामीले सामग्री तयार गर्ने र बिक्री गर्न थालेका छौँ। यसबाट थोरै भए पनि आम्दानी गर्ने र बचत गर्ने बानीको विकास हुने विश्वास गरेका छौँ’, उनले भनिन्, ‘शनिवारे मेलाले सीप विकास र व्यवसाय गर्ने बानीको विकास गर्छ भन्ने लागेको छ।’