एमाले डोटीको कान्छी जिल्ला सदस्य बनिन् सरस्वती
डोटीः नेकपा एमाले डोटी जिल्ला कमिटी सदस्यमा सरस्वती साउद चयन भएकी छन्। नवौं जिल्ला अधिवेशनमार्फत अनेरास्ववियु प्रदेश कमिटी सदस्य समेत रहेकी सरस्वती खुला महिला सदस्य पदमा सर्वसम्मत निर्वाचित भएकी हुन्।
उनी जिल्लाकै कान्छी सदस्य समेत रहेको दाबी गरिएको छ। २५ वर्षीय सरस्वतीको घर डोटीको पूर्वीचौकी गाउँपालिका–७ हो। सानै उमेरदेखि राजनीतिमा सक्रिय सरस्वती अब एमाले जिल्ला कमिटीको सदस्य भएर काम गर्ने छिन्। उनले समाज शास्त्र र पत्रकारिताबाट स्नातक तह पास गरिसकेकी छन्। उनीसँग यसभन्दा अगाडी सिटिइभीटी राष्ट्रिय कमिटी सदस्य र प्रेस चौतारी नेपाल डोटीको जिल्ला उपाध्यक्ष भएर काम गरेको अनुभव छ।
साथै उनी हाल अनेरास्ववियू प्रदेश कमिटी सदस्य छिन् भने सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदको स्वकिय सचिवको रुपमा समेत कार्यरत छन्। उनीसँगै एमाले डोटीमा अधिकांश सदस्यहरुमा युवा निर्वाचित भएका छन्। गत मंसिर २९ गतेको नवौं जिल्ला अधिवेशनमार्फत अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी थिइन्।