साल्ट ट्रेडिङ्गलाई एक करोड भाडा उठाउनै सकस, व्यापारीको पत्रिकामा नाम आउदै
धनगढीः साल्ट ट्रेडिङ्ग कर्पोरेसन धनगढीलाई एक करोड रुपैयाँ भाडा बाफतको उठान सकस भएको छ। धनगढी उप–महानगरपालिका–२ बसपार्क क्षेत्रमा रहेको साल्ट ट्रेडिङ्गको पुरानो भवनका सटरहरूको भाडा अझै असुल नभएको हो।
धनगढीको मुख्य सडक क्षेत्रमा परेको पुरानो भवन साल्ट ट्रेडिङ्गले भत्काएको छ। सोही भवनका सटरहरूको भाडा व्यापारीहरूले अझै नदिएका हुन। साल्ट ट्रेडिङ्गले ११ व्यापारीहरूबाट एक करोड रूपयौँ भाडाको उठ्न बाँकी रहेको बताएको छ। साल्ट ट्रेडिङ्ग, धनगढीका प्रमुख वासुदेव उपाध्यायले सटर भाडाको रकम दिन आनाकानी गर्ने व्यापारीहरूको नाम पत्रिकामा सार्वजनिक गर्ने तयारीमा रहेको बताए। उनले ११ जना व्यापारीहरूले एक करोड बढी रकम भाडाको नदिएपछि कानुनी प्रक्रियामा जाने बताएका हुन। उनले भने, ‘केही व्यापारीहरूले दिनु भएको छ। अहिले पनि दिदै हुनुहुन्छ। आजको दिनसम्म एक करोड बढी छ। ११ जनाको रकम आउन बाँकी छ। उहाँहरूले आइतवारसम्म दिनु भएन भने पत्रिकामा नाम आउछ। हामी कानुनी प्रक्रियामा जाँदैछौ।’
साल्ट ट्रेडिङ्गले प्रति सटरबाट मासिक २७ हजार पाँच सय भाडा उठाउदै आएको थियो। साल्ट ट्रेडिङ्गको धनगढी बसपार्क अगाडीको पुरानो भवन सडकको क्षेत्राधिकार भित्र परेको र भूकम्प प्रतिरोधीसमेत नरहेको भन्दै भत्काउने तयारी भएपछि व्यापारीहरूले भाडा बुझाउन छोडेका थिए। साल्ट ट्रेडिङ्गले मासिक तीन लाख ५७ हजार पाँच सय रुपैयाँ सटर भाडावाफत सङ्कलन गर्दै आएको थियो। साल्ट ट्रेडिङ्गको धनगढी कार्यालयसमेत रहेको सपिङ्ग कम्पीलेक्स भवन भत्किएको छ। भवन भत्किने भएपछि व्यापारीसँगको सम्झौता पनि मध्यावधिक गरिएको थिएन। सटर छोड्नुपर्ने अवस्था आएपछि व्यापारीहरूले आर्थिक मन्दिको कारण देखाउदै साल्ट ट्रेडिङ्गको भाडा दिएका छैनन। उनीहरूको नाम आइतवार पत्रिकामा सार्वजनिक गर्ने र अदालती प्रक्रिया सुरु हुने दाबी उपाध्यायको छ। साल्ट ट्रेडिङ्गले वार्षिक ४६ लाख ४७ हजार पाँच सय रुपैयाँ १३ वटा सटरबाट आम्दानी गर्ने गरी सटर भाडामा लगाएको थियो।
सडक क्षेत्रमा पर्ने र भूकम्प प्रतिरोधीसमेत नभएको भवन भत्किएको सडकमा धनगढी उपमहानगरपालिकाले पार्किङ स्थल निर्माण गरेको छ। सडकको क्षेत्राधिकारमा रहेको उक्त क्षेत्रमा हरियाली, शौचालयसहितको पार्किङ स्थल निर्माणको काम हुँदैछ।