सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सात पुल निर्माण गर्न ठेक्का, दुई वटाको काम पूरा

२०८१ पुष ४, १२:०१ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले सात वटा पुल निर्माणको काम गर्दै छ। धनगढी उपमहानगरपालिका भित्र दुई वटा आरसिसी मोटरेबल पुल निर्माणको काम सकिएको छ।

धनगढीको कैलाली खोला, सुकुटी खोला, जोकैया खोला र भादा खोलामा पुल निर्माण गर्न ठेक्का सम्झौता गरिएको थियो। २०७९ पुसमा निर्माण सम्झौता भएका पाँच पुलहरूको निर्माण अवधी १८ महिना हो। सम्झौताअनुसार २०८१ असार १५ मा सम्पूर्ण काम सम्पन्न गर्नुपर्नेमा वडा नम्बर १३ को कैलाली खोला र वडा नम्बर ४ र ५ जोड्ने कैलाली खोलाको पुल निर्माणको काम सकिएको इन्जिनियर कमल ओझाले बताए।

धनगढी–१३ कैलाली गाउँको कैलाली खोलाको पुल २०७९ पुस ११ गते धनगढी उपमहानगरपालिका र निर्माण कम्पनीबिच २०८१ असार १५ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। जनता राष्ट्रिय माध्यमिक विद्यालय नजिकको पुल निर्माणका लागि चार करोड ९ लाख ५५ हजार आठ सय ७६ रुपैयाँमा सम्झौता भएको थियो। तीन करोड ९७ लाख १८ रुपैयाँ धनगढी उपमहानगरपालिकाले निर्माण कम्पनीलाई भुक्तानी दिएको छ। यस्तै, धनगढीको नास्ट कलेज नजिक कैलाली नालामा पुल निर्माण गरेको निर्माण कम्पनीलाई तीन करोड ७४ लाख रुपैयाँ भुक्तानी दिएको छ।

उपमहानगरपालिकाले धनगढी–६ को जोकैया खोला, धनगढी–१६ को भादा खोला, वडा नम्बर १ र ८ को सुकुटी खोला, वडा नम्वर १३ कैलाली गाउँको कैलाली खोला, नास्ट कलेज नजिक, वडा नम्बर १ र २ जोड्ने साथी होटल पछाडि र साइकेन्द्रदेखि तारानगर जाने बाटोमा आरसिसी मोटरेबल पुल निर्माण गरिरहेको छ। १८ महिनामा पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गर्न उपमहानगर र निर्माण कम्पनीबिच सम्झौता भएको हो। निर्माणाधीन सात मध्ये दुई पुलको काम काम भने सकेको हो।

कैलाली गाउँको पुल निर्माणको ठेक्का मणिलेक आसु जेभीले पाएको हो। २० मिटर लम्बाइ तथा ८ दशमलव ४ मिटर चौडा पुलको काम पूरा भएको छ। धनगढी–४ र ५ जोड्ने नास्ट कलेज नजिकको पुल निर्माणको ठेक्का एलवी एण्ड एबी बिल्डर्सले पाएको हो। २५ मिटर लम्बाई र ५ दशमलव ५ मिटर चौडाइको पक्की पुलको काम पनि सकिएको हो। धनगढीका अन्य पाँच वटा पुलको काम जारी रहेको धनगढी उपमहानगरपालिकाले बताएको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस