सुदूर नेपाललाई विश्वसँग जोड्दै

धेरै कित्ताकाट हुने क्षेत्रमा धनगढी बन्यो पहिलो

२०८१ पुष ३, ११:४८ खबर संवाददाता

धनगढीः धेरै कित्ताकाट हुने क्षेत्रमा कैलालीको धनगढी अग्रस्थानमा देखिएको छ। मंसिर महिनमा घरजग्गा किनबेच बढेसँगै जग्गाको कित्ताकाट पनि बढेको हो।

मंसिर महिनामा कित्ताकाट हुने क्षेत्रमध्ये धनगढी देशभरीमै पहिलो बनेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाएको छ। घरजग्गा कारोबार मन्दीमा फस्नुका साथै अधिकांश पालिकाहरुमा कित्ताकाट समेत रोकिँदा साउनयता कित्ताकाट घटेको थियो। जग्गाको वर्गीकरण टुंग्याउन नसकेका पालिकामा साउनदेखि कित्ताकाट ठप्प भएपछि भूमि व्यवस्था मन्त्रालयले भदौमा भूउपयोग नियमावली संशोधन गरेर कित्ताकाट खुला गरेको छ।

सरकारले भूउपयोग नियमावली संशोधन गरेर कित्ताकाट खुला गरेपछि जग्गाको कारोबारसमेत बढ्न थालेको छ। मंसिरमा सबैभन्दा धेरै कित्ताकाट हुने मालपोत कार्यालयमा धनगढी पहिलो बनेको छ। धनगढीबाट एक महिनामा चार हजार २ सय ३२ कित्ताकाट भएका छन्। यस्तै कञ्चनपुरको महेन्द्रनगरबाट एक हजार ९ सय ५६ कित्ताकाट भएका छन्।

भूमि सुधार तथा मालपोत कार्यालय धनगढी र मालपोत कार्यालय टीकापुरबाट बढी घरजग्गाको कित्ताकाट भएको छ। घरजग्गाको कित्ताकाट संख्याको आधारमा सबैभन्दा बढी धनगढीमा देखिएको छ। तराईको जमिन कित्ताकाट हुँदाहुँदै स–साना कित्तामा बाँडिएको छ। जसले गर्दा व्यावसायिक कृषि गर्न ठूलो प्लटमा जमिन अभाव हुँदै गएको छ। पछिल्लो समयमा २/३ हेक्टर प्लटमा जमिन पाउनै छोडेको छ।

भूमि सुधार तथा मालपोत कार्यालय कैलालीका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा सात हजार ४४८ कित्ता जग्गा पास भएको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पाँच हजार ८४ कित्ता जग्गा पास भएकोमा आर्थिक वर्ष २०७८/०७९ मा पाँच हजार ७१ कित्ता जग्गा पास भएको थियो। जिल्लामा वार्षिक सरदर ६ हजार कित्ता जमिन किनबेच हुने गरेको छ।

कमेन्ट लोड गर्नुस