नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ। आज परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो। यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो।
आज तीन सय चार कम्पनीको एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता शेयर ६७ हजार छ सय ४८ पटक खरिदबिक्री भएको छ। आज नेप्सेमा पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार आठ सय ४७ बराबरको कारोबार भएको छ। आज सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै वित्त समूह चार दशमलव ४१ र व्यापार समूह तीन दशमलव ५५ प्रतिशतले घटेको छ।
आजको कारोबारमा दुई सय २७ कम्पनीको शेयर मूल्य घट्दा १५ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ। कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५८ प्रतिशतले घटेको छ।