पाँच दिन लगातार ओरालो लागेको नेप्से आज ४५ अङ्कले बढ्यो
काठमाडौँः पछिल्लो पाँच दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो।
यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो। परिसूचक बढेपनि कारोबार रकम भने पाँच अर्बमा खुम्चिएको छ। आज तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ।
सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने शून्य दशमलव ३४ प्रतिशतले घटेको छ। आज बैंकिङ समूह सबैभन्दा बढी तीन दशमलव ४३ प्रतिशतले बढेको छ। न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९७ प्रतिशतले बढेको छ।
सबैभन्दा बढी घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको ३६ करोड १५ लाख दुई हजार चार सय ४३ बराबरको शेयर किनबेच भएको छ।