सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नम्बर ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना हुने

। फोटो स्रोत ।
२०७६ असार १०, ०३:०१

प्रदेश नम्बर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ। फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको हो।

छोटो समयमा धेरै आम्दानी गर्ने मनसायले किसानले तरकारीमा धेरै विषादी हाल्ने गरेको भन्दै मन्त्रालयले पाँच जिल्लामा एक–एक परीक्षण मेसिन राख्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता निर्मल गदालले जानकारी दिए। उनले विषादी परीक्षणका लागि पाँच मेसिन बोलपत्रमार्फत खरीद गरिसकिएको बताए। तरकारी तथा फलफूलमा व्यापक विषादी प्रयोग गर्ने गरेको जनगुनासोका आधारमा परीक्षण मेसिन राख्न लागिएको उनले बताए। 

मन्त्रालयले बोलपत्रमार्फत रु ६ करोडमा पाँच मेसिन खरीद गरेको हो। उनले भने, “हरेक उपभोक्ताको भान्सा विषादीरहित बनाउन यो कार्यक्रम अघि बढाइएको हो। यसै महीना मेसिन आउनेछ भने आगामी आर्थिक वर्षबाट परीक्षण शुरु गरिनेछ।” 

मन्त्रालयले चितवन, मकवानपुर, ललितपुर, काभ्रे र नुवाकोटमा तरकारीको विषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याउने जनाइएको छ। उनले भने,  “जहाँबाट धेरै फलफूल र तरकारी भित्रन्छ, त्यहाँ मेसिन राख्ने योजना बनाएका छौँ।” “संरचना निर्माण नहुँदासम्म कृषि ज्ञान केन्द्रमार्फत विषादी परीक्षणको व्यवस्था मिलाइने बताए। यसका लागि आवश्यक प्रविधि तथा प्राविधिकको तयारी पूरा भएको मन्त्रालयले जनाएको छ।

यस्तै तरकारी आयात, निर्यात र उत्पादन हुने मुख्य बजारलाई केन्द्रमा राखेर विषादी परीक्षण प्रयोगशाला सञ्चालमा ल्याइन लागेको प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिए। 
परीक्षणपश्चात तरकारीमा मानव स्वाथ्यमा प्रतिकूल असर पार्ने विषादी प्रयोगको मात्रामा कमी आउने उनको विश्वास छ। कृषि उत्पादनलाई प्राथमिकता दिँदै आएको मन्त्रालयले उपभोक्ताको स्वास्थ्यलाई पनि ध्यानमा राखेर जैविक उत्पादनलाई जोड दिइएको मन्त्री लामाले बताए। विषादी परीक्षणको अभावमा फलफूल तथा तरकारीमार्फत विषादी खानुपर्ने बाध्यता अन्त्य हुने उनले जिकिर गरे। उपभोक्ताबाट दैनिकरूपमा तरकारीमा विषादीको मात्रा बढेको गुनासो आउन थालेपछि विषादी परीक्षण केन्द्र सञ्चालमा ल्याउन लागिएको मन्त्री लामाले बताए। 

उत्पादन बढी गर्ने मनसायले तरकारी तथा फलफूलमा विषादी अत्यधिक मात्रामा प्रयोग गर्ने प्रवृत्ति किसानमा बढ्दो छ। नेपालमा वार्षिक करोडौँको विषादी  आयात हुने गरेको छ। सबैभन्दा धेरै विषादी तरकारीमा खपत हुने गरेको छ। कृषकले बोट ठूलो बनाउन, फल धेरै फलाउन र लामो समयसम्म टिकाइरहन आवश्यकताभन्दा बढी मल र घातक विषादी प्रयोग गर्ने गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस