सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘शिक्षा क्षेत्रका समस्या समाधान गर्न कठिनाइ भइरहेको छ’

२०८१ मंसिर १५, ०७:३४

कैलालीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्पष्ट नीति र मापदण्ड नहुँदा शिक्षा क्षेत्रका समस्या समाधान गर्न कठिनाइ भइरहेको बताए। 

आज कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको शैक्षिक भवन सिलान्यास तथा स्मारिका विमोचन गर्दै मुख्यमन्त्री शाहले सोही कारण शिक्षा क्षेत्रमा बजेट विनियोजनलगायत समस्या भइरहेको बताए। 'माध्यमिक तहसम्मको शिक्षा पालिका र उच्च शिक्षा व्यवस्थापनको अधिकार प्रदेशलाई दिए पनि त्यसको कार्यान्वयनका लागि स्पष्ट नीति र मापदण्ड छैन। जसले गर्दा शिक्षा क्षेत्रबाट आउने समस्या समाधान गर्न सकिएको छैन', उनले भने।

सुदूरपश्चिम प्रदेशका पाँच वटा सामुदायिक क्याम्पसलाई आङ्गिक बनाउने योजना बजेट विनियोजन नभएका कारण कार्यान्वयन हुन नसकेको मुख्यमन्त्री शाहको भनाइ थियो। उनले भने, 'स्पष्ट नीति र मापदण्डका लागि वित्त आयोगसँग समन्वय गरी उच्चस्तरीय आर्थिक सुझाव तथा समस्या समाधान समिति गठन गरेका छौँ। त्यसको सिफारिसअनुसार काम गरौँला।'

मुख्यमन्त्री शाहले घोडाघोडीको समग्र विकासका लागि २० करोड बजेट बराबरको नीति तथा कार्यक्रम ल्याइएको बताए। क्याम्पसको शैक्षिक भवन विश्वविद्यालय अनुदान आयोगको रु तीन करोड अनुदान सहयोगमा निर्माण हुन लागेको छ। 

कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले क्याम्पसका समस्याबारे मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाएका थियो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा घोडाघोडीका नगरप्रमुख खडक रावत, उपप्रमुख गुलियाकुमारी चौधरी, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो। 

कमेन्ट लोड गर्नुस