सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवगंगामा सात वर्षसम्म पुलको जग पनि तयार भएन

२०८१ मंसिर १३, ०२:२० कमल सावद

धनगढी : कैलालीको धनगढीमा सम्झौताको सात वर्षसम्म पुलको जगको काम पनि सकिएको छैन। धनगढी उपमहानगरपालिका–१७ पथरी र वडा नम्बर १६ रामपुर जोड्ने पक्की पुल निर्माणको काम अलपत्र पारिएको हो।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरले २०७४ असार २७ गते पुल निर्माणको सम्झौता गरेको थियो। धनगढीबाट बेहडाबाबा मन्दिर जाने मुख्य सडकको शिवगंगामा पुल निर्माणका लागि सम्झौता भएको सात वर्ष हुँदा पनि जग निर्माणको कामसमेत पूरा भएको छैन। कुल १४ करोड २६ लाख रुपैयाँमा तीन वर्षभित्र काम सक्ने गरी सडक डिभिजन कार्यालय, महेन्द्रनगर र पप्पु एड्भेन्चर जेभीबीच २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले सात वर्षसम्म पुलको काम अलपत्र पारेको छ। पथरीका कृपा चौधरीले पाँच दिन मात्र काम गरेर निर्माण कम्पनी गएको बताए। उनले भने, ‘पाँच दिन काम भयो। अहिले गएको छ।’ बर्सातको समयमा पुल नभएकाले समस्या रहेको चौधरीले बताए।

धनगढीको मुख्य बजारबाट कैलाली बहुमुखी क्याम्पस, जाखोर ताल हुँदै खुटिया नदी तरेर पथरी पुगिन्छ। पथरीपारि वडा नम्बर १६ का बस्ती र प्रसिद्ध बेहडाबाबा मन्दिर छन्। खुटिया नदी र शिवगंगामा एकै पटक पुल निर्माणका लागि शिलान्यास भएको थियो। खुटिया नदीमा पुल निर्माणको काम पूरा भएपनि शिवगंगामा रोकिएको हो। धनगढी उपमहानगरपालिका–१६ रामपुरका प्रकाश चौधरीले पुलको जग खन्ने र पुरिने काम मात्र हुँदै आएको बताए। उनले भने, ‘बर्सातमा बाढी हुन्छ। डल्लपमा जानुपर्ने हुन्छ। एक पटकको एक सय रुपैयाँ तिर्नुपर्छ। पुलको काम हुँदैन। खन्छन, बाढीले पुर्छ। यस्तै हुँदैछ सात वर्षदेखि।’

शिवगंगा नदीमा पुल बनाउन सङ्घीय सरकारले बजेट छुट्याएर ठेक्का लगाइको ७ वर्ष भएको छ। पुल निर्माण नभएकाले हिउँदको समयमा उपमहानगरपालिकाले ह्यूम्पाइपमार्फत सवारी सञ्चालनका लागि सडक निर्माण गरेको छ। तर, बर्सातको समयमा शिवगंगामा बाढी हुने भएकाले मोटरसाइकल, साइकल र मान्छेहरू डल्लबमै राखेर तारिने काम हुँदै आएको छ। मोटरसाइकलसहित एक जना मान्छे तारेको सय रुपैयाँ लिन्छन्। धनगढी उपमहानगरका–१७ का वडाध्यक्ष माधवराज रानाले खुटिया र शिवगंगा पुलको एकै पटक शिलान्यास भएको बताए। उनले भने, ‘खुटिया पुल र शिवगंगा पुलको एकै पटक शिलान्यास भएको हो। खुटिया पुल निर्माण भएको चार वर्ष भयो। शिवगंगामा काम भएको छैन। सडक डिभिजनमार्फत डेक्का भएको हो।’

शिवगंगामा पायल बनेपछि पुल निर्माणको काम रोकिएको छ। तर, निर्माण कम्पनीले ३० प्रतिशत काम सकिएको भनेर कुल लागतको २२ प्रतिशत अथार्त् तीन करोड १३ लाख ७२ हजार रुपैयाँ भुक्तानी लिएको छ।

ठेक्का सम्झौताअनुसार २०७७ असार २५ गतेभित्र काम सकिनुपर्ने हो। सडक डिभिजन कार्यालयले २०८२ साल भदौसम्म म्याद थपेको छ। कम्पनीले साढे दुई वर्ष थप्न माग गरेको थियो। सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले पुल निर्माणका लागि समय थप गरिएको बताए। चालु आर्थिक वर्षमा पुल निर्माणको काम हुने उनको दाबी छ।

शिवगंगापारिका बासिन्दा रोजगारी, पढाइ, व्यवसाय र अन्य कामका लागि धनगढी बजारमा नपुगी हुँदैन। धनगढीको पर्यटकीय स्थल बेहडाबाबा जाने पर्यटकहरू पनि समस्यामा पर्ने गरेका छन्।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस