धनगढीमा अतिक्रमण गरिएका सडक र सार्वजनिक जग्गा खाली गरिँदै
धनगढीः कैलालीको धनगढीमा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन थालिएको छ।
धनगढी उपमहानगरले सडक र सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउन थालेको हो। अतिक्रमण हटाउन एक हप्ताभित्रै फिल्डमै गएर अतिक्रमित क्षेत्रमा रेखाङ्कन गरिने भएको छ। गत वर्ष उपमहानगरले ५ किलोमिटर क्षेत्रमा खोलानालाको अतिक्रमण हटाएको थियो। यो वर्ष पनि खोलानालाको ५ किलोमिटर क्षेत्रमा गरिएको अतिक्रमण हटाइने तयारी छ।
सडक क्षेत्र, खोलानाला, ताल तलैया र सार्वजनिक क्षेत्रमा भएको अतिक्रमण हटाउन उपमहानगरले गुरूयोजना नै बनाएको छ। गत वर्ष १३ वटा सार्वजनिक ताल र ५ किलोमिटरमा भएको खोलानाला अतिक्रमण हटाएको उपमहानगरले यो वर्ष पनि अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएको छ।
सडक मापदण्ड, भवन निर्माण संहिता र भवन निर्माण मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउने कामलाई यो वर्ष पनि निरन्तरता दिने डिभजनल इन्जिनियर दिजराज भट्टले बताए। ‘गत वर्ष अतिक्रमित १३ वटा ताल खाली गरेकोमा यो वर्ष पनि अतिक्रमणमा परेका ताल खाली गर्ने योजना छ।
गत वर्ष भौतिक संरचना र खेत बनाइएका १३ तालको अतिक्रमण हटाइएको हो’, उनले भने, ‘ताल खाली गर्ने अभियानले यो वर्ष पनि निरन्तरता पाउने छ भने खोलानाला र सार्वजनिक क्षेत्रको अतिक्रमण हटाउन गुरूयोजना नै बनाइएको छ।’ उपमहानगरपालिकाले गुरूयोजना नै बनाएर खोलानाला, ताल– तलैया, सडक र सार्वजनिक क्षेत्रको अतिक्रमण हटाउने भएको छ।
अतिक्रमण हटाउने कागजी प्रक्रिया सकेर आगामी हप्ताबाट रेखाङ्कन गरिने र लगत्तै अतिक्रमण हटाउन उपमहानगरले अतिक्रमित खोलानाला र ताल तलैया खाली गर्ने इन्जिनियर भट्टले बताए। उपमहानगरपालिकाले विगतमा नगर विकास समितिले नदी र खोलानालाको जग्गा समेत बिक्री गरेको थियो। तर, पानीको बहाउ क्षेत्र व्यक्तिको नाममा दर्ता भए पनि सेटव्यागभित्र कुनै संरचना बनाउन नपाइने नियम छ।