सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चिसापानी–जङ्गलघाट–मंगलसेन सडक निर्माणको काम अलपत्र

२०८१ मंसिर ८, ०९:२३ कमल सावद

धनगढीः कैलालीमा चिसापानी–जङ्गलघाट–मंगलसेन सडक अलपत्र परेको छ।

सो सडक खण्ड कालोपत्रका लागि संघीय सरकारले २ करोड ५० लाख बजेट विनियोजन गरेको भए पनि निर्माण कार्य अघि बढ्न सकेको छैन। गत आर्थिक वर्ष प्रतिनिधि सभा सदस्यको एक निर्वाचन क्षेत्र एक सडक पूर्वाधारबाट तीन करोड बजेट विनियोजन गरिएको थियो। तर चालु आर्थिक वर्षमा भने २ करोड ५० लाख मात्र बजेट विनियोजन गरिएको छ।

कैलालीको चिसापानीदेखि कुइने क्षेत्रमा रुख कटानीको आदेश नआउँदा काम हुन सकेको छैन्। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका प्रमुख हरि सुवेदीले सङ्घीय मन्त्रीपरिषद्ले रुख कटानीको आदेश नदिएकाले काम रोकिएको बताए। उनले भने, ‘यसका लागि मन्त्रीपरिषद्बाट निर्णय हँदैछ।’

सडक डिभिजन कार्यालय, कञ्चनपुरमार्फत कालोपत्रका लागि प्रक्रिया थालिएका बेला रुखका कारण काम रोकिन पुगेको छ। चिसापानीदेखि सुर्खेतको कुइनेसम्म झण्डै २९ किलोमिटर सडक छ। चिसापानी बजार क्षेत्रको झण्डै २ किलोमिटर कालोपत्र भएकोमा कुइनेसम्मको बाँकी १० किलोमिटर सडक निर्माणको काम रोकिएको छ।

उनले भने, ‘रुख कटानका कारण रोकिएको हो। निर्णय गराउँदैछौ। फाइल पेस भएको छ। १० देखि १५ दिनमा काम हुन्छ।’ चिसापानी–जंगलघाट–मंगलसेन सडकले कैलाली, डोटी, अछाम र बाजुरा तथा कर्णाली प्रदेशका ४ जिल्ला जोड्छ। कुइनेको कर्णाली नदीमा पक्की पुल निर्माण पूरा भएको छ भने जंगलघाटको कर्णाली नदीमा पुल निर्माण हुँदैछ।

चिसापानी–जंगलघाट–मंगलसेन सडक २०२८ सालबाट निर्माण सुरु भएको थियो। अछामका पञ्चायतकालीन नेता स्वर्गीय हरिप्रसाद भण्डारीले सोही सडकबाट २०२४ चैत २४ गते जिल्ला सदरमुकाम मंगलसेनसम्म जिप पुगाएका थिए। उक्त सडकको गत आर्थिक वर्षमा ट्रयाक निर्माणको काम पूरा भएको थियो। चिसापानी–जंगलघाट–मंगलसेन सडकको अछाम खण्डमा एक सय १० किलोमिटर सडक छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस