सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसले युक्रेनमा हान्यो ब्यालिस्टिक मिसाइल

फाइल फोटो
फाइल फोटो
२०८१ मंसिर ६, ०४:५४ खबर संवाददाता

एजेन्सीः रूसले बिहीवार युक्रेनमाथि ठूलो आक्रमण गरेको छ। त्यसक्रममा रुसले आफ्नो दक्षिणी आस्त्रखान क्षेत्रबाट अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल हानेको छ।

रूसले एक हजार दिनदेखि जारी यो युद्धका क्रममा पहिलो पटक शक्तिशाली र लामो दूरीको मिसाइल प्रयोग गरेको हो। युक्रेनी वायुसेनाले पनि यस आक्रमणको पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशमा निर्मित लामो दूरीका मिसाइल रुसका भित्री सहरसम्म हान्न युक्रेनलाई अनुमति दिएलगत्तै युद्ध बढ्ने चिन्ता विश्व जगतमा छ।

यस्तोमा युक्रेनले केही मिसाइल रुसका भित्री भागसम्मलाई लक्षित गर्दै हानेपछि मस्कोले जवाफस्वरुप अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल हानेको हो। यसबारेमा मस्कोले दुई महिनाअघि नै अमेरिकाले यदि लामो दूरीका हतियार युक्रेनलाई चलाउन दिए युद्ध र तनाव उचाइमा पुग्ने चेतावनी दिएको थियो।

रूसले निप्रो शहरको मध्य–पूर्व क्षेत्रमास्थित उद्यम र महत्वपूर्ण पूर्वाधारलाई मिसाइलबाट निशाना बनाएको छ। तर अहिलेसम्म अन्तरमहादेशीय मिसाइलबाट सैन्य या गैरसैन्य कुन पूर्वाधारलाई लक्षित गरिएको हो खुलिसकेको छैन। यसबाट भएको क्षतिको विवरण पनि आइसकेको छैन।
 

कमेन्ट लोड गर्नुस