सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा साढे ४ करोड मूल्य पर्ने उपकरण भएको अस्पताल डुब्यो

भाडा नपाएका घरधनीले न्यायिक समितिलाई गुहारे

२०८१ मंसिर ३, ०६:५८ नारायण अवस्थी

धनगढीः कैलालीको अत्तरियामा साढे चार करोड मुल्य पर्ने स्वास्थ्य उपकरणसहितको अस्पताल डुबेको छ।

सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल बन्द हुँदा साढे चार करोड मूल्यका उपकरण त्यसै थन्किएका छन्। यहाँका नागरिकलाई सस्तो स्वास्थ्य सेवा प्रदान गर्न २०७० सालमा खुलेको सामुदायिक अस्पताल एक वर्षदेखि बन्द छ। गोदावरी नगरपालिका–१ वनखेतस्थित महेन्द्र राजमार्गसँगै जोडिएको स्थानीय हरिकृष्ण पाण्डेको घर भाडामा लिएर अस्पताल चलाइएको थियो।

तीन तले घरको मासिक एक लाख १० हजार भाडा दिने सर्तमा अस्पताल चलाइए पनि घरधनीलाई समेत घरभाडा दिइएको छैन। २०७९ मा अस्पताल चलाउन जिम्मा लिएको ८ जना चिकित्सक समूहले सञ्चालनमा रहेको अस्पतालालई अहिले अलपत्र अवस्थामा छोडिदिएका छन्।

विपन्न र निम्न आयस्रोत भएका बिरामीको सहज उपचार गर्ने उद्देश्य राखेर ७८ लाख रकम जम्मा गरेर अत्तरियाका केही व्यवसायीले अस्पताल खोलेका थिए। स्थानीय आनन्दराज भट्ट, नैनसिंह कार्की, तारादत्त जोशी, लालमणी जोशीको समूहले सामान्य अवस्थामा सञ्चालन गरिरहेको अस्पतालमा २०७९ मा मायामेट्रो अस्पताल धनगढीमा कार्यरत ८ जना चिकित्सकको समूह जोडिएपछि अस्पताल सञ्चालनमा समस्या आएको हो।

२०७९ जेठबाट घरधनी हरिकृष्ण पाण्डेले घरभाडा समेत पाएका छैनन्। सामुदायिक अस्पताल सञ्चालकहरूले ३० महिनाको घरभाडा नदिएको घरधनी पाण्डेले बताए। ‘२०७९ जेठमा मासिक एक लाख १० हजार भाडा दिने सम्झौता गरिएको हो। मैलै ३० महिनाको घरभाडा पाएको छैन,’ उनले भने, ‘दिन्न भनेका छैनन् त्यसैले म पनि चुप बसेको छु।’

डाक्टर राजेशबहादुर खड्काको नेतृत्वमा मायामेट्रोमा कार्यरत ८ जना चिकित्सकले सामुदायिक अस्पतालमा २०७९ जेठमा जोडिएका हुन्। चिकित्सको नयाँ टिमले घरको एक तला उठाउन लगाएर ३९ कोठा भएको घरको मासिक एक लाख १० हजार भाडा तिर्ने सम्झौता गरेका छन्। सञ्चालक समितिबाट अस्पताल चलाउने जिम्मा लिएको चिकित्सकको समूहले सामान्य चलिरहेको अस्पताल पूर्ण रुपले बन्द हुने अवस्थामा पुगाएका छन्।

उनीहरूले घरधनीलाई ३३ लाख घर भाडा, एक लाख बिजुलीको बिल र ४० हजार पानीको बिल बुझाउन बाँकी छ। पाँच वर्षको सम्झौता गरेर घर भाडामा लिएको भए पनि सम्झौताअनुसार भाडा रकम नपाउँदा घरधनी पाण्डेले २०७९ चैत १ मा न्यायिक समितिका उजुरी दिएका छन्।

न्यायिक समितिमा पटक–पटक छलफल हुँदा घरभाडा वापतको रकम दिने सहमति गरिए पनि अस्पताल सञ्चालक समिति र चिकित्सकहरूको समूहले घरभाडानदिएको घरधनी पाण्डेले बताए। अस्पताल सञ्चालक समितिले अस्पताल चलाउने जिम्मा लिखित र कानूनी रुपमा चिकित्सकको समूहले लिएको जनाएको छ।

अस्पतालले गोदावरी नगरपालिकाबाट २० लाख तथा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट उपकरण खरिद गर्न २५ लाख अनुदान पाएको सञ्चालक समितिले बताएको छ। अस्पतालमा उपकरण खरिदका लागि करिब एक करोड ७५ लाख समूहको खर्च भएको दाबी गरिएको छ। अस्पताललाई विभिन्न दातृ निकायबाट अत्याधुनिक उपकरण प्राप्त भए पनि अस्पताल नै बन्द हुँदा ती उपकरणमा खिया लाग्ने अवस्था आएको छ। चिकित्सको समूहले अस्पताल चलाउन नसक्दा घरभाडा हरेक महिना बढी रहेको छ भने झन्डै चार करोड ५० लाखका उपकरण अलपत्र परेका छन्।

अस्पताललाई चलाउने या उपकरण अन्य सरकारी निकायलाई उपलब्ध गराएर घरभाडाको समस्या समेत समाधान गर्ने सञ्चालक समितिका सचिव नैनसिंह कार्कीले बताए। ८ जना चिकित्सको समूहले सामुदायिक अस्पताल चलाउने जिम्मा लिएपछि डाक्टर राजेशबहादुर खड्कालाई कार्यकारी निर्देशको जिम्मेवारी दिइएको थियो। कार्यकारी निर्देशक खड्कासँग यो विषयमा बुझ्न खोज्दा भने सम्पर्क हुन सकेको छैन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस