पहिरो खसेपछि बैतडी–दार्चुला सडक अवरुद्ध, यात्रुहरु बिचबाटोमै अलपत्र
बैतडीः सडक माथिबाट पहिरो खसेपछि बैतडी–दार्चुला सडक खण्ड अवरुद्ध भएको छ।
बैतडीको पाटन नगरपालिका–४ जेउडेमा आइतबार साँझ पहिरो खसेर सडक अवरुद्ध भएपछि यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन्। हिजो रातभरीदेखि यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन्। अहिले एकतर्फी रुपमा भए पनि बाटो खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार अहिले एकतर्फी रुपमा बाटो खुलाएर सवारीसाधन सञ्चालन गर्ने काम भइरहेको बताए। दशरथचन्द राजमार्गस्थित जेउडेमा मोड सुधारका लागि कटिङ भइरहेको समयमा आइतबार साँझ ६ बजे माथिबाट पहिरो खसेको हो।
हिजो भने तत्काल पहिरो पन्छाउन सकिने अवस्था थिएन। पहिरो खसेको क्षेत्रको तल घर र माथि बिजुलीको हाईटेन्सन लाइन भएकाले तत्काल पहिरो पन्छाउन नसकिएको हो। आज भने बिहान ६ बजेबाट दुइटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए। प्रहरी र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेकाले पहिरोको जोखिम बढ्ने सम्भावना छ। केशर कन्ट्रक्सनले मोड सुधारको काम गरिरहेको थियो।
सडक अवरुद्ध बनेसँगै बैतडी र दार्चुलाबाट छुटेका छोटो तथा लामो दूरीका सवारीसाधन त्यही रोकिन पुगेका थिए। दार्चुला र बैतडीबाट छुटेका सवारीसाधनका यात्रुहरुलाई सतबाझसम्म र तराईदेखि पाटन उताको सवारी र यात्रुहरुलाई पाटनमा रोकिन प्रहरीले आग्रह नै गरेको थियो। यसका लागि लोकमार्ग क्षेत्रका प्रहरी युनिटहरुलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले एकतर्फी रुपमा सडक सुचारु गर्ने काम भइरहेको छ भने आज दिनभरीमा दुइतर्फी रुपमै सवारीसाधान सञ्चालन गर्न सकिने गरी काम भइरहेको प्रहरीले जनाएको छ।