सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजबाट कर सप्ताह सुरू, कर प्रणाली झन्झटिलो रहेको सरोकारवालाहरूको गुनासो

२०८१ मंसिर १, ०९:४४ खबर संवाददाता

धनगढीः आज मंसिर १ गतेबाट राष्ट्रिय कर सप्ताह सुरू भएको छ। १३ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले शनिवार प्रभातफेरि निकालेर कर सप्ताहको उद्घाटन गरेको छ।

सहिद गेटबाट सुरू भएको प्रभातफेरी निर्माण व्यवसायी संघ हुँदै आन्तरिक राजस्व कार्यालयमा पुगेर समापन भएको थियो। प्रभातफेरी पश्चात् आन्तरिक राजस्व कार्यालय परिसरमा राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८१ को उद्घाटन गरिएको थियो।

नेपालमा २०५४ सालदेखि मूल्य अभिवृद्धि कर लागू भएपछि २०७९ देखि राष्ट्रिय कर दिवस मनाउन थालिएको हो। “कर प्रणालीको सार, लगानीको आधार“ भन्ने नाराका साथ यो वर्षको कर दिवस र सप्ताह मनाइने भएको छ। कार्यक्रममा विभिन्न करदाता कार्यालय र संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै अडानका प्रतिनिधि चिरञ्जीवी पाठकले कर प्रणालीमा निकै सुधार भएको बताए। उनले कर दाता शिक्षालाई वर्षभरि नियमित चलाउनुपर्ने बताए। गौरीगङ्गा उद्योग वाणिज्य संघका अध्यक्ष खेमानन्द पौडेलले करदाता शिक्षा लागू गर्दा सरकार र करदाता दुबैलाई लाभ हुने बताए।

“करको झन्झटबाट करदाताले मुक्ति पाउनुपर्ने अवस्था निर्माण हुनुपर्छ। कर तिरेर पनि विवरण नलिएकाले ननफाइलर हुनुपर्ने अवस्था छ,“ उनले भने, “कर प्रणालीको जटिलताले यो वर्ष मात्रै विवरण दाखिला गर्दा कैलालीमा १७ हजार व्यवसायी ननफाइलर छन्।“ पौडेलले ननफाइलरको दीगो समाधान गर्न राजस्व विभागले उपयुक्त नीति ल्याउनुपर्ने बताए।

कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर बिष्ट सरकारको गलत नीतिको कारण करदाता समस्या पर्दै आएको बताए। उनले भने, “एकद्वार प्रणालीबाट कर तिर्ने वातावरण बन्नुपर्छ। ननफाइलरको समस्या समाधान हुनुपर्छ। भन्सारमा रहेको समस्या समाधान गरिनुपर्छ।“  सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष लक्ष्मण स्वाँरले  कर प्रणालीमा सुधार हुनुपर्ने बताए। उनले भने, “कर प्रणालीमा अझै सुधार हुनुपर्छ। निर्माणका व्यवसायीले अग्रिम कर तिर्दा पनि कर चुक्ताको प्रमाणपत्र पाउन समस्या रहेको छ। कर समायोजनमा समस्या छ जसले गर्दा निर्माण व्यवसायीले समस्या भोग्नुपरेको छ।“

भन्सार कार्यालय कैलालीका प्रमुख अनन्त तिमिल्सिनाले भने कर प्रणालीमा धेरै सुधार भएको बताए। उनले भने, “हामी सुधारको प्रक्रियामा छौँ। कर तिर्न लाइनमा बस्न पर्ने अवस्था छैन। करदाताले कर तिरेर सम्मानित नागरिक हुने सोच राख्नुपर्छ।“

आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत मोहन बस्नेतले आन्तरिक राजस्व कार्यालय धनगढीले ननफाइलर करदाताको समस्या समाधानको काम गर्न कर्मचारी खटाएको बताए। उनले वर्षभरि करदाता शिक्षा स्थानीय तहमा समेत सञ्चालन गरेर करदाता र कर संकलनकर्ता कार्यालयको काममा सहजीकरण गर्न काम गर्ने बताए। कैलालीमा ९४ हजार करदाता ननफाइलर रहेको बताउँदै यो संख्या घटाउन काम गर्ने प्रमुख कर अधिकृत बस्नेतले बताए।
 

कमेन्ट लोड गर्नुस