धनगढीमा महिला उद्यमीका लागि ‘शनिवारे’ मेला सुरु, यसो भन्छन् उद्यमी महिला
धनगढीः धनगढी उपमहानगरपालिकाले महिला उद्यमी शनिवारे मेला सुरू गरेको छ। आज (शनिवार) देखि सुरु भएको मेला हरेक साताको शनिवार लाग्नेछ।
शनिवारे मेलामा महिला उद्यमीले स्टल राखेका छन्। धनगढी उपमहानगरपालिका–१ पार्कमोडमा हरेक शनिवार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मेला लाग्नेछ। मेलाको पहिलो दिन ६० वटा स्टलमा महिला उद्यमीहरूले आफूले बनाएका सामान र खाजाका परिकार राखेका छन्। शनिवारे मेलाले महिलाहरूलाई आयआर्जनमा जोड्ने अपेक्षा गरिएको छ।
उद्यमी महिला उत्साहित
धनगढी–१५ को जमुना महिला समूहले शनिवारे बजारमा थारु खाजाको परिकार राखेको छ। बनिवारे बजारमा ६० वटा स्टलमा महिला उद्यमीहरूले हस्तकला, खाना तथा खाजाको स्टल राखेका छन्। धनगढी–५ की अनुकुरमारी चौधरीले शनिवारे बजारमा ढकियाको स्टल राखेकी छन्।
घरमै थारू हस्तकलाका समान बनाएर बिक्री गर्ने अनुकुमारीले शनिवारे बजारले हस्तकलाको सामग्री बिक्री गरेर आयआर्जन हुने विश्वास गरेकी छन्। यस्तै, धनगढी–५ की दिप्ती राजभण्डारीले शनिवारे बजारमा दुना टपरी र हस्तकलाका सजावटका सामान राखेकी छन्। पहिलो पटक स्टल राखेका महिला उद्यमीहरूले बिस्तारै आफूले बनाएका सामान तथा खाना र खाजका परिकार बिक्री हुनेमा ढुक्क छन्।
धनगढी–१५ को जमुना महिला समूहकी अध्यक्ष सुमती चौधरीले थारू खाजको स्टल राखेको र यो पटक राम्रो बिक्री भए अर्को पटकबाट परिकारको मात्रा बढाउने सोच रहेको बताइन्। उनले भनिन्, ‘हामीहरू समूहमा आएका छौँ। पहिले त नआउने बिचार पनि गरेका हौँ। यो पटक राम्रो बिक्री भए अर्को पटक परिकारको मात्रा थप्ने योजना छ।’
थारू महिलाहरूले तयार पारेका अचार, ढिक्री,माछा, पकौडी, अन्डीको मस्यौला, घोँगी लगायत खाजका परिकार बिक्री गर्न राखेका छन्। यस्तै, हस्तकलाका विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ।सिप सिकेका तर कही कतै व्यवसाय नगरेका महिलाहरूलाई निःशुल्क बजारको अवरस दिने उद्येश्यले शनिवारे बजार सुरू गरिएको नगर प्रमुख गोपाल हमालले बताए। ‘हामीकहाँ तालिम मात्रै लिने उद्यम नगर्ने समस्या रहेको छ।
तालिमबाट सिकेको सिपबाट महिलाहरूले आयआर्जन गर्न सकून् भनेर शनिवारे महिला उद्यमी मेला सुरू गरिएको हो,’ उनले भने, ‘यो मेलालाई हामीले दीर्घकालसम्म निरन्तरता दिने सोच बनाएका छौँ। घरमै सिमित महिलाले व्यवसाय गर्न सिकून भन्ने हाम्रो उद्येश्य हो।’ शनिबारे बजार सञ्चालन गरेर उद्यमशिलता विकासका लागि आवश्यक सिप र तालिको समेत पहिचान गरिने छ।
घरभित्र मात्रै सिमित महिलाहरूलाई आर्थोपार्जनमा समेत जोड्न मेला सहयोगी हुने विश्वास नगर प्रमुख हमालको छ। ‘युवा तथा महिलाहरूले विभिन्न सिपमूलक तालिक लिने तर उद्यम नगर्ने समस्या छ। सिपमूलक तालिम लिएर बेरोजगार बस्न नपरोस् भनेर मेलो आयोजना गरिएकाले उपमहानगरले दीर्घकालसम्म मेला चलाउने सोच राखेको छ,’ नगर प्रमुख हमालले भने।
धनगढीमा युवा लक्षित रात्रिकालीन बजार समेत सञ्चालन हुने भएको छ। धनगढीमा अध्ययनका लागि बसोबास गर्दै आएका युवाहरूका लागि साँझ ६ देखि राति १० बजेसम्म बजार सञ्चालन गर्न तयारी भइरहेको छ। पहिलो चरणमा महिला र दोस्रो चरणमा युवा लक्षित बजार सञ्चालन हुने छ। मेलामा निःशुल्क खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ।