गेटामा मेडिकल शिक्षा अध्ययनका लागि दबाब दिन मेयर हमालको आह्वान
पूर्व प्रधानमन्त्री देउवा र मन्त्री राणा सुदूरपश्चिममा
धनगढीः गेटा मेडिकल कलेज सञ्चालन गर्न सरकारलाई दबाब दिन धनगढीका मेयर गोपाल हमालले आह्वान गरेका छन्।
पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवासँग मेडिकल विषयको पढाई सुरु गर्न माग राख्न मेयर हमालले आग्रह गरेका हुन्। सुदूरपश्चिममा अहिलेसम्म मेडिकल कलेज नहुँदा उपचार गर्न र मेडिकल शिक्षा हासिल गर्न समस्या छ।
सुदूरपश्चिममै चिकित्सा शास्त्रको अध्ययन गर्ने र सहज उपचार सेवा पाउने अवस्था अझै बनेको छैन। तर सरकारले भने गेटामा मेडिकल कलेज सञ्चालनका लागि रणनीति तयार भइरहेको दाबी गरेको छ। परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाले मेडिकल अध्ययन कसरी गर्ने भन्ने बारे रणनीति बनाइरहेको दाबी गरेकी छन्।
मेडिकल शिक्षा अध्ययनको माग ३० वर्षसम्म अलपत्र
धनगढीका मेयर हमालले गेटामा मेडिकल शिक्षा अध्ययनको माग पूरा गराउन सरकारलाई दबाबा दिन आह्वान गरेका छन्। काँग्रेका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाको सुदूरपश्चिम भ्रमणको क्रममा मेडिकल शिक्षा अध्ययनका विषयमा पूर्वप्रधानमन्त्री देउवा र सरकारको ध्यानाकर्षण गराउन मेयर हमालले आग्रह गरेका छन्।
उनले सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य शिक्षा अध्ययन र उपचारको व्यवस्था नहुनु दुःखद भएको भन्दै नेपाली काँग्रेका नेता तथा कार्यकर्तालाई मेडिकल कलेज, प्रतिष्ठान या विश्वविद्यालय सञ्लालनको कुरा उठाउन आग्रह गरेका हुन्। ‘सुदूरपश्चिमले करिब तीन दशकदेखि मेडिकल कलेजको माग राख्दै आएको छ।
उद्योग वाणिज्य संघले २१ किलोको माला र २१ बुँदे माग राख्ने अभियान चालेको थियो,’ उनले भने, ‘२१ बुँदे माग मध्येको एउटा महत्वपूर्ण माग मेडिकल कलेजको पनि हो। यो माग पूरा गर्न पूर्वप्रधानमन्त्री र सरकारका मन्त्री सुदूरपश्चिमको भ्रमणमा रहेको बेला उठाउन म काँग्रेसका साथीहरूलाई आग्रह गर्दछु।’
सुदूरपश्चिम सस्तो स्वास्थ्य उपचारबाट बञ्चित
कैलाली उद्योग वाणिज्य संघले तीस वर्षदेखि गेटामा मेडिकल कलेज सञ्चालनको माग उठाउँदै आएको छ। सुदूरपश्चिमको सर्वसुलभ स्वास्थ्य शिक्षा र उपचार सेवा पाउने हक अहिलेसम्म पूरा हुन सकेको छैन। सरकारमा रहेको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसका पार्टी सभापति एवं सरकाका प्रभावशाली मन्त्रीको सुदूरपश्चिम भ्रमणको क्रममा गेटामा मेडिकल विषयको अध्ययन सुरू गर्नेबारे प्रश्न गर्न र दबाब दिन काँग्रेसका नेता तथा कार्यकर्तालाई मेयर हमालले आग्रह गरेका हुन्।
मेयर हमालले भने, ‘सुदूरपश्चिममा जनाताले २५ हजारमा हुने शल्यक्रियाका लागि डेढ लाख खर्च गर्नुपर्ने अवस्था छ। नेपालगन्ज र भारतका विभिन्न ठाउँमा गएर उपचार गराउनुपर्ने अवस्था छ। आफ्नै ठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न र उपचार सेवा पाउन हामीले कहिले पाउने भनेर काँग्रेसका साथीहरुले सोध्न आग्रह गर्दछु।’
कलेज सञ्चालनका लागि रणनीति बन्दैछः परराष्ट्र मन्त्री
परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाले गेटामा मेडिकल विषयको अध्यापनका लागि नेपाल सरकारले रणनीति तयार गरिरहेको बताएकी छन्। शुक्रवार गेटा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री राणाले गेटाको विषयमा सरकारले काम गरिरहेको बताएकी हुन्। उनले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र नेपाल सरकारले गेटामा मेडिकल विषयको अध्यापन सुरू गर्न संयुक्त रुपमा रणनीति तय गरिरहेको बताइन्।
‘नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले गेटामा मेडिकल विषयको अध्यापन सुरू गर्ने विषयमा रणनीति बनाइरहेको अवस्था हो,’ उनले भनिन्, ‘गेटामा यतैको डाक्टर श्रीपाइली निर्देशक हुनु भएको छ र यहाँको सबैले गेटा सञ्चालनका लागि सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने मेरो आग्रह छ।’ काँग्रेस सभापति शेरबहादुर देउवा र मन्त्री डाक्टर आर्जु राणा देउवा अहिले डेडेल्धुराको भ्रमणमा छन्।
सरकारको मुख्य घटक नेपाली काँग्रेसले अग्रसरता लिए ६ अर्ब लागतका भौतिक संरचना तयार भएको गेटामा मेडिकल शिक्षाको पठनपाठन सुरू हुन समय नलाग्ने विश्वास गरिएको छ। मुलुकका अन्य ६ प्रदेशमा मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन रहे पनि सुदूरपश्चिममा मेडिकल शिक्षाको अध्ययन सुरु भएको छैन। गेटामा ६ अर्ब लगानीमा भौतिक संरचना बने पनि चिकित्सा विज्ञान अध्ययनको टुङ्गो लागेको छैन।