रात्रिकालिन जात्रा हेरेर घर फर्किदै गरेका रावल दम्पती बिचबाटोमै अस्ताए
धनगढीः दार्चुलामा रात्रिकालिन जात्रा हेरेर घर फर्कदै गरेका एक दम्पती बिचबाटोमै अस्ताएका छन्।
जिल्लाको मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालीन जात्रा हेरेर घर फर्कने क्रममा जिप दुर्घटना हुँदा रावल दम्पतीको बिचबाटोमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिप दुर्घटनामा शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्रसिंह रावल र उनकी २८ वर्षीया श्रीमती शान्ति रावलको मृत्यु भएको हो। बिरेन्द्रसिंह रावल शैल्यशिखर नगरपालिकामा अमिनको रुपमा कार्यरत थिए। दुबै जना मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालिन मेला हेर्न गएका थिए। तर घर फर्कने समयमा जिप दुर्घटना हुँदा श्रीमान/श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सो जिप दुर्घटनामा गोकुलेश्वर बहुमुखि क्याम्पसमा कार्यरत शैल्यशिखर नगरपालिका–९ नकतडकी ४० वर्षीया मिना लेखक र शैल्यशिखर–९ नकतडकै ४५ वर्षीय दिलीपसिंह विष्टको पनि मृत्यु भएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए।
जिप दुर्घटनामा बैतडीको डिलाशैनी–५ का १५ वर्षीय संजिव बोहरा, बिरेन्द्र बोहरा तथा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको छ। जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए।
जिप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका सुनिल जोशीको अवस्था गम्भीर रहेको डीएसपी दाहालले बताए। उनको टाउकोमा चोट लागेको छ। जिपमा सवार शैल्यशिखर–५ लेकगाउँका सन्दिप रावल, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–५ का उत्तम रोकाया, भारत पिलभित मारुडण्डाका सोहिन शाह र ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल घाइते भएका छन्। घाइतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरबाट निसर्ग अस्पताल धनगढी पुगाइएको छ। मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गईरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।