सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बढ्यो उपनिर्वाचनको सरगर्मी, कति छ जिसस कैलालीको मतभार?

२०८१ कार्तिक २७, ०२:५३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र ६ वटा पद रिक्त छन्। रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

रिक्त पदमा उम्मेदवार चयनदेखि राजनीतिक दलहरुले चुनावी प्रचारलाई पनि सँगसँगै अघि बढाएका छन्। जिल्ला समन्वय समिति कैलालीमा प्रमुखको पद रिक्त छ भने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पद रिक्त छ। बाँकी चार पद वडाअध्यक्षका रिक्त छन्। रिक्त सबै पदका लागि उपनिर्वाचन हुन लागेको हो। रिक्त पदमा उपनिर्वाचन गराउन निर्वाचन अधिकृतहरु खटिएका छन्।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ५ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको पदमा आयोगले नियुक्ति गरिसकेको छ। उपनिर्वाचनको लागि बझाङमा सुदर्शन लामिछाने, बाजुरामा संजिव पोखरेल, डोटीमा रुद्रमणी गिरी, दार्चुलामा पुष्पराज पाण्डे र कञ्चनपुरमा लिलाराज अधिकारीलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।

बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहूँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडाअध्यक्षको लागि उपनिर्वाचन हुँदैछ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भने उपाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो। यता कैलाली जिल्ला समन्वय समिति प्रमुखको पद पनि रिक्त छ। १३ स्थानीय तह रहेको कैलालीमा जिससमा कुल मतभार २६ छ।

कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, नेकपा एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ गरी २६ मतभार छ। साथै स्थानीय तह उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा दलहरूले तयारी थालेका छन्। जनप्रतिनिधिहरूको निधनपछि सुदूरपश्चिममा ६ पदका लागि उपनिर्वाचन हुन लागेको हो।
दलहरु जुटे तयारीमा
उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलहरूले तयारी थालेका छन्। जनप्रतिनिधिहरूको निधनपछि सुदूरपश्चिममा ६ पदका लागि उपनिर्वाचन हुन लागेको हो। राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरु करिबकरिब टुङ्ग्याइसकेका छन्। सँगै घरदैलो कार्यक्रमलाई पनि अगाडि बढाइसकेका छन्। सत्तारुढ दल नेकपा एमाले र कांग्रेस आफ्नो पक्षमा माहौल तयार पार्नमा जुटेका छन्।

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारको नाम टुङ्गोमा लगाउने तयारीमा पुगेको छ। एमालेले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्षको लागि सुशिलाकुमारी भण्डारीको नाम टुङ्गो लगाएको छ। भण्डारी गत निर्वाचनमा नेपाली कांग्रेसकी मैना जोशीसँग पराजित भएकी थिइन्। जोशीको निधनपछि निर्वाचन हुन लागेको हो।

त्यस्तै, एमालेले डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षको लागि देवबहादुर थापालाई उम्मेदवार बनाउने भएको छ  भने कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदको लागि बहादुर चन्दलाई उम्मेदवार बनाएको छ। बझाङको सुर्मा गाउँपालिका–४ र दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्षको उम्मेदवार भने कांग्रेस र माओवादीको उम्मेदवारको आधारमा तय गर्ने रणनीति एमालेको छ।

साथै जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसलाई सघाउने र त्यसको लागि सत्तारुढ दलहरूसँग छलफल चलिरहेको एमालेले जनाएको छ। कांग्रेसले जिल्ला समन्वय समिति कैलाली प्रमुखका लागि धनगढी उपमहानगरपालिका–२ का वडासदस्य केशवराज पन्तको नाम सर्वसम्मत सिफारिस गरेको छ।

यस्तै सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले जिसस कैलाली प्रमुखमा दाबी गरेको छ। नाउपाका महासचिव गंगाराम चौधरीले आफूहरूको प्रमुखमा दाबी रहेको र त्यसको लागि छलफल जारी रहेको बताए। त्यस्तै, नेकपा माओवादी केन्द्र पनि उम्मेदवार टुङ्ग्याउने कसरतमा लागेको छ। 
यस्तो छ निर्वाचन कार्यतालिका
आगामी मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ। यस्तै सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ। निर्वाचन आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ।

मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन्। यस्तै सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने गरी निर्वाचन आयोगले कार्यतालिका बनाएको छ।

कमेन्ट लोड गर्नुस