‘एक महिनाभित्र गीत लेख्नेलाई मारिदिनेछौं’, सलमानलाई नयाँ धम्की
एजेन्सीः बलिउड अभिनेता सलमान खानलाई पुनः लरेन्स बिश्नोई ग्याङबाट धम्कीले भरिएको सन्देश प्राप्त भएको छ। मुम्बईको ट्राफिक कन्ट्रोल रुममा सलमान खानका लागि धम्कीपूर्ण सन्देश आएको हो।
यो कुरा बिहीवार राति करिव १२ बजेको समयको हो। उक्त सन्देशमा के भनिएको छ भने ‘सलमान खान र लरेन्स बिश्नोई’ माथि एउटा गीत लेखिएको छ।’ धम्की दिँदै उक्त गीत लेख्नेलाई नछाडिने कुरा उल्लेख गरिएको छ।
धम्कीमा के छ ?
धम्कीपूर्ण सन्देशमा लेखिएको छ– ‘एक महिना भित्र गीत लेख्नेलाई मारिने छ, गीत लेख्नेको हालत यस्तो हुनेछ, उसले आफ्ना नामले गीत लेख्न सक्ने छैन। यदि सलमानमा हिम्मत छ भने उनले गीतकारलाई बचाउन्।’ यो प्रकरणमा मुम्बईको वर्ली प्रहरीले अज्ञात व्यक्तिविरुद्ध उजुरु दर्ता गरेको छ।
जुन नम्बरबाट धम्की आएको छ, प्रहरीले त्यसलाई ट्रेस गर्ने प्रयास गरिरहेको छ। यद्यपि, उक्त गीत कुन हो र कसले लेखेका हुन्, यसको जानकारी धम्कीपूर्ण सन्देशमा दिइएको छैन। बिश्नोइ ग्याङ्को धम्कीका बीच अभिनेता सलमान खान भने आफ्नो फिल्म ‘सिकन्दर’ को छायांकनमा व्यस्त छन्।